• ६ साउन २०८१, आइतबार

अरुणको सम्झनामा जति माया लाए पनि...

blog

तस्बि : रासस

गण्डकी, साउन ६ गते । साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुईँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतीक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । बिस्तारै गुन्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

दिवसका अवसरमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर विद्यार्थी सङ्घ, नेपाल मगर सांस्कृतिक सङ्घ र नेपाल मगर विद्यार्थी सङ्घ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रूपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् । भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उहाँसँगका स्मृतिलाई कोट्याउनुभयो । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाउनुभएको उहाँले सुनाउनुभयो । 

उहाँहरूबिच वि.सं.२०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउनुहुन्थ्यो । “गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो”, राजभण्डारीले भन्नुभयो, “भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।” राजभण्डारीले नेपाली सङ्गीत जगत्का अमर प्रतिभाका रूपमा उहाँलाई स्मरण गर्नुभयो । 

अरुणका गीत युवा पुस्तामाझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताउनुभयो । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरू कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरू साँझ अबेरसम्म सङ्गीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो ।

प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि अरुणले गाएका ‘जति माया लाए पनि...’, ‘चोट के हो व्यथा के हो...’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरूमा तिमी...’ गायक श्रेष्ठले सुनाउनुभयो । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई...’, ‘चोट के हो व्यथा के हो...’लगायत गीत गाउनुभयो । 

कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि...’ र सागर सुनारले ‘आँखाको नीद...’ सुनाउनुभयो । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी...’ र ‘अल्झेछ क्यारे पछ्यौरी...’ प्रस्तुत गर्नुभयो । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिनुभयो । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाउनुभएको छ । 

गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका कार्यवाहक अध्यक्ष डम्मर बुढामगरले बताउनुभयो । कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सदस्य सङ्गम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रूपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो । 

“सुरुको कालखण्ड सुखद रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उहाँले भन्नुभयो, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपर्थ्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।” अरुणले वि.सं.२०३४ मा गाएको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो ।

नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । जन्म विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका अरुणको वि.सं.२०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रूपमा अस्वस्थ भई उहाँले मुत्युवरण गर्नुपरेको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरू छोडेर जानुभएको छ । 

अरुणले वि.सं.२०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठुलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । यही गीतबाट अरुणको साङ्गीतिक यात्रा सुरु भएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । 

वि.सं.२०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । नेपाल मगर विद्यार्थी सङ्घलगायतका सङ्घसंस्थाले बर्सेनि अरुण स्मृतिका दिवसका अवसरमा ‘अरुण स्मृति साँझ’को आयोजना गर्दै आएका छन् । रासस