• ६ साउन २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

blog

शालिग्राम नेपाल
चितवन, साउन ६ गते ।
शुक्रबार राती  भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

भरतपुर २ घर हुनुभएको श्रेष्ठको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राती करिब ९ः३० बजेको समयमा ठक्कर दिएको थियो । मोटरसाइकल चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ । घटना शुक्रबार भएपछि घाइतेको मृत्यु भएपछि मात्र प्रहरीले दुर्घटनाको विषयमा आइतबार दिउसो जानकारी दिएको हो ।