• ६ साउन २०८१, आइतबार

१६ सयभन्दा बढीमा डेंगु पुष्टि

blog

काठमाडौँ, साउन ६ गते । देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गका कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५७०, कोशी प्रदेशमा ३९६ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा २५६, लुम्बिनी प्रदेशमा १९६, सुदूरपश्चिममा १७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३  जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो । 

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १९६, झापामा १२८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।’’