• ६ साउन २०८१, आइतबार

मातृशक्तिले गरे विष्णुसहस्रनामको पाठ

blog

काठमाडौँ, साउन ६ गते । एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् । 

त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन गर्ने कार्यक्रम रहेको भए पनि १२३ जनाले पाठ गरेको जनाइएको छ । आयोजकका अनुसार नेपालमा यसरी यतिको सङ्ख्यामा महिलाबाट वाचन भएको यो पहिलो पटक हो । 

घर–घरमा गुरुकुलका संस्थापक आचार्य कपिलदेव सुवेदीका अनुसार २०७६ सालमा कोरानाकालमा पाँच वर्षीया बालिका सान्भी सुमन प्रसाइँले संस्कृत शिक्षा कहाँ लिन पाइन्छ ? भनी गरेको प्रश्नका आधारमा घरमा नै संस्कृत सिकाउने अभियान थालिएको छ । 

त्यस अभियान अन्तर्गत महिलाले घरमा नै बसेर अनलाइनबाट संस्कार शिक्षा, नित्यकर्म, दुर्गा सप्तशती, श्रीमद्भागवत गीतालगायतका संस्कृतका स्तोत्रको अध्ययन तथा कथावाचन गरिरहेका छन् ।

हालसम्म २५ वटा कक्षाबाट पाँच सयभन्दा बढी महिलाले त्यस्तो ज्ञान र वाचन सिकेका छन् । हाल समाजका काठमाडौँ, मकवानपुर र चितवनमा शाखा छन् भने ललितपुर र भक्तपुरमा शाखा गठनको तयारी भइरहेको छ । संस्कार शिक्षा नेपालबाट मात्र नभ अमेरिकाबाट पनि सञ्चालनमा रहेको आचार्य कपिलदेवले जनाउनुभयो । 

श्री १००८ डा. रामानन्द गिरीको परिनिर्वाणको सातौँ वार्षिक समारोहको अवसर पारेर आयोजित समारोहमा संस्कृत शिक्षाका साधकलाई अभिनन्दन गरिएको छ । श्री १००८ स्वामी रमणानन्द गिरी र घर–घरमा गुरुकुल अभियानका संयोजक आचार्य कपिलदेवले प्रा. शिवगोपाल रिसाल, प्रा. भवानीप्रसाद खतिवडा, समाजसेवी रामप्रसाद सुवेदी, मधुसूदन सुवेदी, शान्ति सुवेदी र अभियानको बीजारोपण गर्ने सान्भी सुमन प्रसाइँलाई अभिनन्दन गर्नुभयो ।

त्यसअवसरमा श्री १००८ स्वामी रमणानन्द गिरीले त्रिशक्ति एकादशी संस्कृति समाजको दर्ताको क्रममा धर्मको उद्देश्य राख्न नदिइएकोमा आपत्ति जनाउनुभयो । उहाँले अष्टमूर्तिका चर्चा गर्दै मानव शरीर आफैमा त्यस्तो मूर्ति हुने बताउनुभयो ।

प्रा. शिवगोपाल रिसालले आमासमान गुरु कोही नहुने भन्दै घर–घरमा गुरुकुल अभियानले मातृशक्तिलाई अरु सशक्त बनाउने विश्वास गर्नुभयो । त्रिशक्ति एकादशी संस्कृति समाजका अध्यक्ष रीता पाण्डेको सभापत्विमा भएको कार्यक्रममा प्रा. भवानीप्रसाद खतिवडाले वैदिक सनातन धर्मको सम्बन्ध मानव कल्याणसँग हुने बताउनुभयो । रामप्रसाद सुवेदीले दानको महिमाबारे चर्चा गर्नुभयो ।