• ६ साउन २०८१, आइतबार

प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

blog

काठमाडौँ,  साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।  

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ । प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र संसदमा सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो । रासस