• ६ साउन २०८१, आइतबार

बागमतीमा काँग्रेस नेतृत्वमा सरकार बन्ने

blog

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा तामाङ ।

राममणि दाहाल

हेटौँडा, साउन ६ गते । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले आज सो निर्णय गरेको हो । 

कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा तामाङको नेतृत्वमा सरकारमा जाने निर्णय भएको छ । सङ्घमा सत्ता साझेदार दल कांग्रेस र एमालेबिच बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी सहमति भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा जाने संसदीय दलको बैठकले सर्वसम्मतले निर्णय भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिन दर्ता गराउनुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेसका सम्पूर्ण प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा बैठकमा अनिवार्य उपस्थिति भएर विश्वासको मतको विपक्षमा मतदान गर्नसमेत भनेको छ ।

संसदीय दलको बैठकमा प्रदेश सभा सदस्यसमेत रहनुभएको कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले लामाको नेतृत्वका प्रदेश सरकारमा जाने प्रस्ताव राख्नुभएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पास गरेको कांग्रेस प्रदेश सभा सदस्य श्रीराम लामिछानेले जानकारी दिनुभयो । 

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन यसअघि प्रदेशसभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराउनु भएअनुसार प्रदेशसभा बैठक बस्दैछ ।