• ६ साउन २०८१, आइतबार

बोलिभियामा सडक दुर्घटना : २२ जनाको मृत्यु

blog

लापाज, साउन ६ गते । बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबिच ठक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ ।

दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् ।

बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताउनुभएको छ ।

दुई दक्षिण अमेरिकी देशहरूलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो । “प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,” ट्राफिक अधिकृत टोरिकोले भन्नुभयो ।

“ट्रकले सवारी नियमको उल्लङ्घन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ,” उहाँले भन्नुभयो । उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त सवारी साधनहरूमा फसेका शवहरू निकाल्ने काम गरिरहेका टोरिकोले जानकारी दिनुभयो । 

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४००  जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापर्बाही र पुराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ ।

अप्रिल ४ मा दक्षिणपश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा चौध जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । रासस/एएफपी