• ६ साउन २०८१, आइतबार

सिमलताल दुर्घटना : रौतहटका ११ जनाको परिवारलाई आर्थिक सहयोग

blog

सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुहुँदै । तस्बिर : सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र
गौर, साउन ६ गते ।
त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ जनाको परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चितवनको सिमलतालमा असार २८ गते गणपति डिलक्स बस त्रिशूलीमा खसेर ज्यान गुमाएका रौतहटका ११ जना परिवारलाई नगरप्रमुख प्रदिपकुमार यादवले जनही पचास हजार रुपियाँको दरले आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

बौद्धीमाई नपा– १ अजगैवी बो हरिचन्द्र यादव, बलि राउत कुर्मी, वडा नम्बर २ इनर्वाका रामकुमार पटेल, वडा नम्बर ३ मटिअर्वाका पर्शुराम साह बनियाँ र मिना देवी, वडा नम्बर ४ ईनरवारी शलेन्द्र पटेल, गुडु पटेल, प्रिन्स जयसवाल, वडा नम्बर ७ का अमरिता देवी, प्रिती कुमारी, शिवशङ्कर कुमार गरी ११ जनाको परिवारलाई सहयोग रकम उपलब्ध गराइएको बौद्धीमाई नगरपालिकाले जनाएको छ ।

सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य कनिश पटेल, बौद्धीमाई नपाका नगरप्रमुख प्रदिपकुमार यादव, उपप्रमुख प्रमिला जयसवाल, वडाध्यक्ष तुरन्त नारायण यादव, मुक्ति नारायण मिश्र, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, लेखा प्रमुख अरविन्दकुमार यादव, योजना शाखा प्रमुख उमेश झालगायतका उपस्थिति थियो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको छ ।

भारतीय टोली नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आइतबार  बिहानदेखि खोजतलासमा जुटेको छ ।