• ६ साउन २०८१, आइतबार

मुख्यमन्त्री जम्कट्टेलको डेढवर्षे उपलब्धि सार्वजनिक

blog

अनिल पराजुली

हेटौँडा, साउन ६ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १७ महिनाको अवधिमा गरेको मुख्य उपलब्धि आइतबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को आयोजनामा पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गरिएको हो । 

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले संयुक्त रूपमा प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गर्नुभएको हो ।

२०७९ माघ २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका  जम्कट्टेलले सरकार मिलेर बन्नुपर्ने बताउँदै यो अवधिमा तीन पटक विश्वासको मत लिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदेशलाई संस्थागत विकास गर्न प्रदेश सरकारले सशक्त भूमिका खेलेको स्पष्ट पार्नुभयो । 

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि राष्ट्रिय समन्वय परिषद् र तीन तहको कार्य विस्तृतीकरण बैठकमा प्रदेश सरकारलाई अधिकार दिनुपर्ने आवाज उठाई रहेको स्मरण गराउनुभयो । करिब डेढ वर्षको अवधिमा विभिन्न पार्टीसँग समन्वय गरेर अगाडि बढिरहेको सन्दर्भमा गत आर्थिक वर्षमा प्रदेश सरकारको आर्थिक प्रगति उच्च गर्न सकेको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले विकास निर्माणका कार्य धेरै गरेको बताउँदै डेढ वर्षको अवधिमा झन्डै छ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । 

नीतिगत कामहरू पनि धेरै भएको जानकारी दिदैँ मुख्यमन्त्रीले सङ्गठन संरचना पास गराउनुका साथै जिल्लाहरू मार्फत सेवा केन्द्रबाट आम जनतालाई सेवा दिइरहेको बताउनुभयो । प्रादेशिक गुरु योजनामार्फत प्रदेश लोकमार्ग र प्रदेश राजमार्ग निर्माण धमाधम गरेको जिकिर गर्दै भौतिक पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको स्पष्ट पार्नुभयो । 

करिब चार सय हेक्टरभन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको बताउँदै उहाँले समुदायमा आधारित उत्पादन मोडेलका लागि ५१ वटा स्थानीय तहसँग सहकार्य गरेर कार्य गरेको बताउनुभयो । पाँचवर्षे योजनासहित ३५ पालिकामा गृहिणी महिला उद्यमशील कार्यक्रम सुरुवात गरिएको छ । दलित, चेपाङ विकास कार्यक्रम, सामुदायिक विद्यालय सम्बन्धी नीति, खेलकुद, भाषा, कला, संस्कृति लगायतका कार्यहरू गरेको उहाँको भनाइ छ । 

विकासको मूल नेतृत्व प्रदेश सरकारले गरेको जिकिर गर्दै राम्रो कुराको प्रचार गर्न र गलत कुराको खबरदारी गर्न पनि उहाँले पत्रकार सम्मेलनमा आग्रह गर्नुभयो । प्रदेशलाई समृद्ध बनाउन सबै दल एकमत हुनुपर्नेमा उहाँको जोड थियो । 


मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले सम्पादन गरेका प्रमुख कार्यहरूको सार्वजनिकीकरण गरिँदै । तस्विरः अनिल पराजुली