• ६ साउन २०८१, आइतबार

दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रयोगशाला परीक्षणको नतिजा अनुसार काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको छ । उहाँले नेपालमा पोलियो उन्मूलन घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिनुभयो । 

डा. गौतमले दिएको जानकारी अनुसार गत जेठ १३ गते काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वरनजिकै बागमती र टुकुचाको सङ्गमबाट नमुना लिइएको थियो । प्रयोगशाला परीक्षणको नतिजा असार २९ गते आएको थियो । सन् २०१७ देखि नेपालमा ढलको नमुना लिई पोलियो भाइरस परीक्षण हुँदै आएको छ । काठमाडौँ उपत्यकाका पाँच ठाउँबाट नमुना लिएर महिनाको दुई पटक परीक्षण गरिने गरेको छ । उपत्यकाबाहिर पोखरा, विराटनगर र जनकपुरको एक एक स्थानबाट नमुना लिएर महिनाको एक पटक पोलियो भाइरस परीक्षण हुने गरेको छ । 

नेपालमा १० वर्षयता पोलियो भाइरस पुष्टि भएको थिएन । गौतमले टेकु दोभानबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको जानकारी दिनुभयो । गौतमका अनुसार पोलियो भाइरसबाट हुने  सङ्क्रमणक रोग हो । मानिसलाई पोलियो भाइरस भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् ।