• ६ साउन २०८१, आइतबार

डेङ्गु नियन्त्रण अभियान सुरु

blog

बर्दीबास समाचारदाता 

बर्दीबास, साउन ६ गते । महोत्तरीका चार स्थानीय तहमा डेङ्गुलगायत कीटजन्य रोगको सर्वाधिक जोखिममा रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।  कार्यालयका अनुसार ०७४ सालको असोज महिनादेखि बर्दीबासमा पहिलो पटक देखा परेको डेङ्गु त्यस यता गौशाला, मनरा सिसवा र जलेश्वर नगरपालिकामा फैलिसकेकोे छ । जिल्लाका अन्य स्थानीय तहमा सर्ने सङ्केत देखिएको छ । 

कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत हरिनन्दन महतोका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुबाट सबैभन्दा बढी बर्दीबासमा २०९, मनरासिसवामा ७९, गौशालामा सात र जलेश्वरमा छ जना गरी ३०१ जना सङ्व्रmमित भएका थिए । जोखिम पहिचान गरिएका स्थानीय तहमा नियन्त्रण अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको ‘खोजा र नष्ट गर’ कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा औषधी छर्कन (स्प्रे) सुरु गरिएको हो । 

प्रभावित क्षेत्रमध्ये बर्दीबासमा शनिबारबाट सुरु गरिए पनि यसअघि मनरासिसवा र जलेश्वरमा स्प्रेको काम पूरा भएको छ । बर्दीबासलगत्तै गौशालामा गरिने कार्यक्रम छ । अहिलेसम्म डेङ्गु नदेखिएको मटिहानी नगरपालिका–६ को आगलागीपीडित बस्तीमा समेत स्प्रे गरिएको महतोले बताउनुभयो । 

बर्सातको समय डेङ्गुलगायत कीटजन्य रोग फैलाउने लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने मौसम भएकाले पूर्वसतर्कताका लागि ‘बिट’ नामक लार्भीसाइड स्प्रे सुरु गरिएको महतोको भनाइ थियो । यो औषधीको प्रभावले लामखुट्टे बन्ने प्रक्रियामा रहेका लार्भालाई मार्ने हुँदा पानी जमेका खाल्टाखुल्टीदेखि खाली टायर राखिएका स्थान खोजी खोजी औषधी छरिएको भेक्टर कन्ट्रोल अधिकृत महतोले जनाउनुभयो । 

बर्दीबास असपतालका सिनियर अहेब अर्जुन साह सोनारले स्प्रेका क्रममा वर्कसपमा राखिएका खाली टायरमा प्रशस्त मात्रामा लामखुट्टेका लार्भा पाइएको बताउनुभयो । उहाँका अनुसार अहिले स्प्रे नगरिएको भए यी लार्भा केही दिनमै लामखुट्टेमा रूपान्तरित हुने अवस्थामा पुगिसकेका थिए । अभियान अन्तर्गत राजमार्ग क्षेत्रले ओगटेका बर्दीबासका १, २, ३ र १४ नं वडमा स्प्रे सुरु गरिएको नगर स्वास्थ्य सहसंयोजक रामबाबु यादवले जनाउनुभयो । यसका लागि १२ जना स्प्रे छर्न जनशक्ति परिचालित गरिएको छ । बजार क्षेत्रमा पर्ने यी वडा सबैभन्दा बढी प्रदूषित र डेङ्गुको सर्वाधिक जोखिममा रहेका क्षेत्र भएकाले स्प्रेका लागि पहिलो प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । 

डेङ्गुको सर्वाधिक प्रकोपमा रहेको बर्दीबासमा पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा स्प्रे अभियान सञ्चालन गरिएको छ । प्रभावित क्षेत्रमा चेतनामूलक तुल र ब्यानर लिएर घरघरै पुग्नुभएका स्वयंसेविकाले डेङ्गुविरुद्ध सचेतना फैलाउनुका साथै स्प्रे अभियानलाई प्रभावकारी बनाउन सघाइरहेको नगर स्वास्थ्य शाखाका संयोजक सुरेश पासवानले जनाउनुभयो । वर्षाको समय कीटजन्य रोग फैलने मौसम भए पनि यो पटक बर्दीबासलगायत जिल्लाभर डेङ्गुलगायतका रोग अहिलेसम्म देखिएको छैन । तथापि जोखिम भने टरिसकेको छैन । सकेसम्म यस्ता रोग लाग्नै नदिने र लागे पनि फैलिन नदिन उद्देश्यले प्रभावित क्षेत्रमा नियन्त्रण र पूर्वसतर्कता अभियान सञ्चालन गरिएको भेक्टर कन्ट्रोल अधिकृत हरिनन्दन महतोले जनाउनुभयो ।