• ६ साउन २०८१, आइतबार

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

blog

भोजपुर, साउन ६  गते ।  जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो ।

वर्षाले बगेको सडक तीन सातासम्म  बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । “ अवरूद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ । खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ । खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”

राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा  समस्या भएको उहाँले जानकारी दिनुभयो । करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताउनुभयो । वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उहाँले बताउनुभयो । 

यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन् । सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताउनुभयो ।

हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो”, उहाँले भन्नुभयो, “सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ । राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ ।” स्थानीयको सक्रियतामा मात्र सडक सञ्चालन गर्न निकै कठिन हुने उहाँ बताउनुहुन्छ । रासस