• ६ साउन २०८१, आइतबार

प्रदेश रङ्गशाला निर्माणको म्याद थप

blog

रजनी योगी

सुर्खेत, साउन ६ गते । प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको म्याद थप गरिएको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको हो । आगामी मङ्सिरमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित गरेर रङ्गशाला निर्माणको कामलाई अघि बढाइएको छ ।

२०७८ साल कात्तिक २८ गते प्रदेश रङ्गशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जिएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपियाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ साल जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भए पनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रङ्गशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । प्रतियोगिताको प्रमुख केन्द्रका रूपमा उक्त रङ्गशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ ।

अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशाला दस हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको जानकारी सदस्य सचिव सञ्ज्यालले दिनुभयो । उहाँका अनुसार छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउनेलगायतका काम मात्र बाँकी छन् । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । प्यारापिट स्टेडियमको काम, स्विमिङ पुल, छाना लगाउने काम भइरहेको छ भने अन्य काम करिब सकिएको जनाइएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउनुहुन्छ । आउटडोर मोडमा बास्केटबल, भलिबल कोर्ट तथा फुटबल मैदानको काम पनि सकिएको छ ।

दुई क्रिकेट मैदान तयार

१० औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको काम सकिएको छ । २०८० मङ्सिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । सदस्य सचिव सञ्ज्यालका अनुसार ७३ लाख १८ हजार लागतमा क्रिकेट मैदान निर्माण भएको हो । यसै गरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रङ्गशाला निर्माणको काम पनि चार करोड ५९ लाख लागतमा सम्पन्न भएको छ ।

ठाउँ ठाउँमा खेल पूर्वाधार

दैलेखमा कभर्ड हल मर्मतको काम सकिएको छ । उपभोक्ता समितिमार्फत मर्मतको काम गरिएको हो । २०८० माघ ९ गते ठेक्का सम्झौता भई काम अघि बढेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताउनुभयो । १३ लाख ८२ हजारमा मर्मतको काम गरिएको उहाँको भनाइ छ ।

यस्तै रुकुमपश्चिममा पनि कभर्ड हल मर्मतको काम सकिएको छ । प्रतियोगितालक्षित पूर्वाधार निर्माणका लागि कभर्ड हल मर्मत गरिएको जिल्ला खेलकुद विकास समिति रुकुमपश्चिमका अध्यक्ष शैलेश शर्माले बताउनुभयो । मुसिकोट कभर्ड हल मर्मतको काम उपभोक्ता समितिमार्फत १५ लाखमा सम्पन्न भएको शर्माले बताउनुभयो ।

यसै गरी हुम्लामा हकी खेल मैदान निर्माणको काम पनि तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताउनुभयो । एक करोड ५० लाखमा हकी खेल मैदान निर्माण गरिएको हो । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिबल कोर्ट तथा प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । ४० लाखमा भलिबल कोर्ट निर्माणको काम भइरहेको छ ।

परिषद्का सदस्य सचिव सञ्ज्यालले रारामा कबड्डी खेल मैदान निर्माण सकिएको जानकारी दिनुभयो । यसै गरी दैलेख र रुकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेल मैदान निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । डोल्पाको दुनैमा कभर्ड हल मर्मत गरिएको छ ।