• ६ साउन २०८१, आइतबार

मुख्यमन्त्री महरालाई राजीनामा दिन आग्रह

blog

बुटवल समाचारदाता

बुटवल, साउन ६ गते । केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन हुँदाको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ । सत्ता परिवर्तनकै कारण उत्पन्न राजनीतिक अन्योलले गर्दा केही दिनदेखि स्थगित भएको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठक साउन ६ गते आइतबार मात्रै बस्ने भएको छ ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले शुव्रmबार एक सूचना जारी गरी सभामुखको निर्देशानुसार आइतबार दिनको १ बजे बैठक बस्ने गरी तोक्नु भएको हो । यसअघि असार २३ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको चौथो अधिवेशनको २४ औँ बैठक विशेष कारण जनाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो । प्रदेश सभाको बैठक नियमित बस्न सकेको छैन भने बैठकमा प्रस्तुत गर्ने भनिएको विधेयक पनि राजनीतिक अन्योलसँंगै अनिश्चित बनेको छ ।  

नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मुख्यमन्त्री जोखबहादुर महरालाई नयाँ सरकार गठनका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राजीनामा दिन माग गर्दै आएका छन् । प्रदेश सभाका सचिव पुन मगरले आइतबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावना रहेको बताउनुभयो । 

केन्द्रमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिले एमालेले गर्ने मोटामोटी सहमति भए पनि सहमति बाहिर आई नसकेकोले एमाले र कांग्रेस दुवै दलले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । प्रदेश सभामा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले पहिलो चरणमा एमालेले नै लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि लुम्बिनी सरकारको नेतृत्व पहिलो चरणमा आफूहरूले गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रमा हुने निर्णयले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो । एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा पहिलो दाबी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिई सकेको छ । 

केही दिनअघि पूर्वमुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसंँग भेट गरी नयाँ सरकार गठनका लागि पहल गर्न आग्रह गरिसक्नुभएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको अवस्थामा मुख्यमन्त्री महरा अल्पमतमा परेकोले नयाँ निकासका लागि बाटो खोलिदिन आग्रह गरिसकेको मुख्य सचेतक चौधरीले बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक तिमिल्सेनाले भने माओवादीले सरकारबाट हटेपछि  नयाँ सरकार गठनको विषयमा मात्रै छलफल सुरु हुने बताउनुभयो । माओवादी लुम्बिनी प्रदेशका मुख्य सचेतक इन्द्रजित थारूले मुख्यमन्त्री महरा पर्ख र हेरको अवस्थामा रहेको बताउँदै प्रदेश सभाबाट विश्वासको मत लिने वा राजीनामा दिने दुवै अवस्थामा जान सकिने विकल्प रहेको बताउनुभयो ।