• ६ साउन २०८१, आइतबार

अझै खुलेन बेँसीसहर–चामे सडक

blog

यदुप्रसाद भट्ट

मनाङ, साउन ६ गते  । बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा असार १८ गते आएको बाढीले सडक अवरुद्ध भयो । चामे गाउँपालिका–१, तिमाङ खोलाको काठेपुल र तिमाङ ठुलो छहराको पक्की मोटरेबल पुल बगाएपछि आवतजावतमा निकै समस्या भएको छ । अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । 

सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुङ्गा र गेग्य्रान थुप्रिएर क्षति पु-याएको स्थानमा संरचना बन्ने तयारीमा छ तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । तिमाङ खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ तर पनि मनाङ जाने र मनाङबाट आउने जोकोहीले गर्ने यात्रा भने सहज छैन । निकै कठिन रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ । 

२०७८ साल असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेबल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । ठुलो छहरामा स्ल्याब, कलभर्ट र पुल १९ लाख ९४ हजार ३७२ रुपियाँ र सानो छहरामा स्ल्याब, कलभर्ट र पुल ११ लाख ८५ हजार ५३९ रुपियाँको लगानीमा निर्माण गरिएको थियो । 

अहिले मनाङीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । सडक खुलाउन सडक विभागले प्रयास गरेको भए पनि पानीका कारण असफल हुँदै आइरहेको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको स्थानीयले बताएका छन् ।

यस सडकखण्डमा बर्सेनि बर्खाको समयमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ । २०७८ साल असार १ गते आएको बाढीपहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालबाट सडक डिभिजन कार्यालय दमौली–तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । 

नेपाली सेनाले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । बर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विशेष गरी मनाङी समस्यामा पर्दै आएका छन् । लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकोप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् ।