• ६ साउन २०८१, आइतबार

आयुर्वेदमा बिरामीको आकर्षण

blog

बाबुराम कार्की

वराहक्षेत्र, साउन ६ गते । आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दो छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले जनाएको छ ।  

गएको वर्षमा मात्रै १५ हजार बिरामीले आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार गराएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सञ्जिव यादवले बताउनुभयो । आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बिरामीको विश्वास बढेकाले आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयमा बिरामी दैनिक उपचारका लागि आउने गरेका छन् । 

स्वास्थ्य केन्द्र, औषधालयमा जचाउन आउने र औषधी लिनेको सङ्ख्या पनि बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डाक्टर यादवले जानकारी दिनुभयो । डाक्टर यादवका अनुसार पेट दुख्ने, ग्यास्ट्रिक, गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, बाथ, खाना नरुच्ने, रुघाखोकी, नसा, पायल्स र विशेष गरी कानका बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीलाई आवश्यकता अनुसार निःशुल्क रूपमा २३ प्रकारका औषधी उपलब्ध गराउँदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । छ महिनासम्मको बच्चालाई सहयोग हुने गरी स्तनपान कार्यक्रममार्फत दुई वटा शक्तिबर्धक रसायन औषधी निःशुल्क वितरण गरिँदै आएको छ । 

त्यस्तै ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन कार्यव्रममार्फत शक्तिबर्धक तीन वटा रसायन औषधी र ‘इम्युनिटी पावर’ बढाउने औषधी निःशुल्क पाइने गरेको मधुवन आयुर्वेद औषधालयका कविराज निरीक्षक नवराज पोख्रेलले बताउनुभयो । 

अन्य औषधीको तुलनामा आयुर्वेद ‘साइड इफेक्ट’ कम हुने भएकाले आयुर्वेद औषधीको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको हो । आयुर्वेदका ९३ प्रकारका औषधी आउने गरेकोमा अहिले २३ प्रकारको औषधी आउने गरेको छ ।

मधुवन आयुर्वेद औषधालयमा गएको आर्थिक वर्षमा चार हजार ६८ जना नयाँ बिरामी र पुनः जाँच गर्ने बिरामी २५ सय रहेका छन् । मधुवन आयुर्वेद औषधालयमा वार्षिक ६० प्रतिशत कानका बिरामी मात्रै आउने गरेको औषधालयले जनाएको छ । 

जिल्लामा सात वटा औषधालय र चार वटा नागरिक आरोग्य सेवा केन्द्रबाट बिरामीले उपचार सेवा लिइरहेका छन् । इटहरी उपहानगरपालिकामा दुई वटा, धरान उपहानगरपालिकामा एउटा, वराहक्षेत्र नगरपालिकाको मधुवनमा एउट औषधालय छन् । भोक्राहा नरसिंह, गौतमपुर कप्तानगन्जमा एक एक वटा औषधालय छन् । औरावनी, दुहबी, कोशी गाउँपालिका र रामधुनी नगरपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा छन् ।