• ६ साउन २०८१, आइतबार

नौबुँदे न्यूनतम साझा कार्यक्रम तय

blog

मकवानपुर समाचारदाता

हेटौँडा, साउन ६ गते  । सत्ता साझेदारीको सहमति गरेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेशमा सरकार सञ्चालनका लागि नौबुँदे न्यूनतम साझा कार्यक्रम तयार गरेका छन् । बागमती प्रदेश सभाका दुई ठुला दल कांग्रेस र एमालेका प्रतिनिधि सहभागी कार्यदलले सरकार सञ्चालनदेखि नागरिकलाई प्रदेश सरकार भएको अनुभूति दिने गरी न्यूनतम साझा कार्यक्रम बनाएका हुन् । 

कार्यदलका सदस्य श्रीराम लामिछानेले प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमतिसमेत कार्यदल बैठकले गरेको जानकारी दिनुभयो । कार्यदलको बैठकले बागमती प्रदेश सभामा सहकार्य गर्ने प्रतिबद्धतासहित जम्कट्टेल नेतृत्वको सरकारको विपक्षमा मतदान गर्न प्रदेश सभामा रहेका अन्य दलसँग पनि अनुरोध गर्ने निर्णय गरेको लामिछानेले बताउनुभयो ।

उहाँले कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम आइतबार सार्वजनिक गरिने बताउँदै मन्त्रालयहरू र सङ्ख्याको भागबन्डासमेत अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यदलको बैठकपछि कार्यदल सदस्यहरू कांग्रेसका तर्फबाट बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, श्रीराम लामिछाने, एमालेका तर्फबाट प्रमुख सचेतक मधुसूदन पौडेल, केशव पोखरेल, किरण थापामगर र प्रकाश श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुख दुई सारथि दल कांग्रेस र एमालेबिच सहकार्य गर्दै अघि बढ्ने गरी केन्द्रीय तहमा संयुक्त सरकार गठन भई अघि बढेको उल्लेख छ ।

एमालेद्वारा ह्विप

एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मत दिन प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले एमाले प्रदेश सभा सदस्यहरूलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य रूपमा उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्विप जारी गरिएको जानकारी दिनुभयो ।

एमाले, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको नेकपा (माओवादी केन्द्र) का नेता जम्कट्टेल नेतृत्वको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेपछि आइतबार प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि समय तय भएको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रव्रिmया पूरा भएपछि प्रदेश प्रमुखले आइतबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्ने जनाइएको छ ।