• ६ साउन २०८१, आइतबार

आज ४२ औँ बिपी स्मृति दिवस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, सातै प्रदेश र ७७ जिल्लास्थित कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (बिपी सङ्ग्रहालय) मा पनि विशेष कार्यक्रमको आयोजना गरिँदै छ । 

राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस संस्थापक कोइरालाको स्मृति दिवसमा केन्द्रीय कार्यालयमा आइतबार माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गर्ने कार्यव्रmम तय भएको छ । 

बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको हो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो । 

२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला  क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधन २०३९ साउन ६ गते भएको हो ।