• ५ साउन २०८१, शनिबार

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई

blog

इतिहासकार स्व. ज्ञानमणि नेपाल । फाइल तस्बिर

काठमाडौं, साउन ५ गते। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको ‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ।

दाहाल यज्ञनिधि सुधा सदनको शनिबार बसेको बैठकले इतिहासकार ज्ञानमणि नेपाललाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो। एक लाख ५० हजार राशिको उक्त पुरस्कार दाहाल यज्ञनिधिको छैटौँ स्मृति दिवसको अवसरमा साउन २५ गते राष्ट्रिय नाच घर, जमलमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ। 

यो पुरस्कारबाट यसअघि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र साहित्यकार निनु चापागाईं पुरस्कृत भइसक्नु भएको छ। यो वर्ष नेपाली साहित्य र इतिहासको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएका विशिष्ट प्रतिभा नेपाललाई परणोपरान्त प्रदान गर्न लागिएको  हो। 

त्यसैगरी दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट  भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुनुहुनेछ। २०८० सालमा कक्षा ८ बाट उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउनुभएका छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डे पुरस्कृत हुन लाग्नुभएको हो। छात्रछात्रा द्वयलाई जनही १० हजार रुपियाँ र सम्मान पत्र प्रदान गरिनेछ। २० हजार राशिको यो पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान हुँदै आएको छ। दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दरबार स्कुलमा उहाँको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो। 

दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपैयाँको अक्षयकोश राखिएको छ। अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उहाँका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६),  दाहाल यज्ञनिधिका कविता (२०७८) जस्ता कृति प्रकाशित छन्। दाहालको जीवनी व्यक्तित्व र कृतित्व केन्द्रित जदौ (२०६९) कृति पनि प्रकाशित छ। दाहाल सञ्चारकर्मीसँगै कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ। दाहालले नेपाली साहित्यिक पत्रकारिताका छापा र प्रशारण माध्यममा पुर्याउनुभएको योगदान उल्लेख्य रहेकाले उहाँको जीवनी व्यक्तित्व र कृतित्व उजागर गर्ने उद्देश्यले परिवार र शुभचिन्तक मिलेर संस्थाको स्थापना भएको हो।