• ५ साउन २०८१, शनिबार

तीन सातामा प्रकोप कोषमा १५ लाख बचत

blog

तापेथोकस्थित फक्ताङ्लुङ गाउँपालिका कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ५ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तीन साता अघि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा साढे पन्ध्र लाख रुपियाँ बढी रकम सङ्कलन (जम्मा) भएको छ। विपतजन्य घटनाबाट पीडित भएका परिवारलाई सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले स्थापना गरेको कोषमा छोटो समयमै उक्त रकम जम्मा भएको हो।

बर्खायामको मनसुनजन्य घटनाबाट बर्षैपिच्छे प्रभावित हुने गरेका पालिकावासीलाई सहयोग गर्न गाउँपालिका गत असार दोस्रो सातापछि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको हो। कोषका लागि गाउँपालिकाले विनियोजन गरेको १४ लाख ६१ हजार ४२८ रुपियाँसहित कुल १५ लाख ४९ हजार ९७६ रुपियाँ कोषमा सङ्कलन भएको छ। हालसम्म कोषमा सङ्कलित रकममध्ये सात लाख २२ हजार ५२० रुपियाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार विभिन्न राहत सामग्री खरिद गरी पीडित परिवारलाई वितरण गरिएको छ। बिहीबार राति मात्र भीषण वर्षासँगै गएको बाढीपहिरोले गाउँपालिका कार्यालय, गाउँपालिकाको सवारी साधन लगायतका संरचना र तापेथोक बस्ती नै जोखिम बनाएकाले कोषमार्फत सहयोगलाई निरन्तरता दिन सबैसँग अध्यक्ष लिम्बूले अपिल पनि गर्नुभएको छ।

विकट तथा भिरालो भूबनावटका कारण बर्खायाममा मनसुनजन्य घटनाले तुलनात्मक रुपमा फक्ताङ्लुङवासीलाई सताउने गरेको छ। भिरालो जमिन भएका कारण अधिकांस क्षेत्रमा पहिरो बग्ने साथै धेरै सङ्ख्यामा रहेको ठाडो खोला र गाउँपालिका भूभागको बिचबाट बग्ने तमोर नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक घटनाहरु बर्खायाममा अन्य पालिकाभन्दा यहाँ बढी हुने गर्दछन्।

यसवर्षको बर्खायाम सुरु भएपछि हालसम्म बाढीपहिरोका कारण चार जनाको ज्यान गइसकेको छ। त्यस्तै दर्जनौ परिवार विस्थापित भएका छन् भने सयौं परिवार बाढीपहिरोको जोखिम रहेका गाउँपालिकाले जनाएको छ। बाढीपहिरोमा परेर स्थानीयले पालेका थुप्रै पशुपन्छीसमेत मरेका छन्। खेतीबालीसहित अन्य भौतिक संरचनासमेत क्षतिग्रस्त बनेका छन्। गाउँपालिकाभित्रका अधिकांस सडकहरु अवरुद्ध बनेका छन्।