• ५ साउन २०८१, शनिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा ।

तुलसीपुर (दाङ), साउन ५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो । 

सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले  नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका १० सांसद छन् ।

त्यस्तै, साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार-चार  जना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीन जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई-दुई जना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एक जना सदस्य छन् भने एक जना स्वतन्त्र सदस्य छन् । सतासी सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । रासस