• ५ साउन २०८१, शनिबार

भैंसी पालेर मासिक दुई लाख आम्दानी

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन ५ गते। १८ घण्टा मेहनत गर्दा समेत पारिवारिक समस्या हल नभएपछि २०७७ सालमा चालक पेशा छोडेर थोरै लगानीबाट भैंसी पालन व्यवसाय सुरु गरेपछि गोरखा नगरपालिका – ११ का युवा बाबुलाल श्रेष्ठ अहिले महिनाको दुई लाख आम्दानी गर्न थाल्नु भएको छ।

गोरखा नगरपालिका – ११ प्रन्ध किलोमा कृषि तथा पशुपंक्षी फार्म मार्फत व्यक्तिको ४५ रोपनी जग्गा लिजमा लिएर व्यवसायिक घाँस उत्पादन गरेर व्यवसायिक भैंसी पालेर दूध बेचेर राम्रो आम्दानी गर्न थाल्नु भएको हो। 

विगत चार वर्षदेखि बाबुलाल श्रेष्ठले भैंसीको दूध बेचेर मासिक दुई लाख रुपियाँसम्म आम्दानी गर्दै आउनु भएको छ। अहिले २२ वटा दुहुनो भैंसीबाट दैनिक ५५ लिटर दूध बिक्री हुँदै आएको छ।  उहाँले भन्नुभयो, “गोरखामा एक लिटर दूधको मूल्य १ सय ६० रुपैयाँका दरले दैनिक ५५ लिटर दूध बिक्रीबाट ८ हजार ८ सय रुपैयाँको दरले १ महिनामा झण्डै दुई लाख ६४ हजार रुपियाँ आम्दानी हुन्छ।”

जसमा दुई जना काम गर्ने कामदारलाई २०/२० हजारका दरले ४० हजार र बाँकी २४ हजार भैंसीलाई दाना र चोकरमा खर्च भएर बाँकी महिनाको दुई लाख आम्दानी गर्दै आएको उहाँको भनाइ छ। गोरखा नगरपालिका – ११ स्थित १५ किलोमा उत्पादित भंैसीको दूध गोरखा सदरमुकामको सयौ घरमा खपत हुने गरेको व्यवसायी श्रेष्ठले जानकारी दिनुभयो।

‘५ वटा भैंसीबाट सुरु गरेर अहिले २२ वटा दुहुनो भैसी पु–याएको छौं’’, उहाँले भन्नुभयो, “गरे गाउँमा पनि मासिक दुई लाख रुपियाँ कमाउन धेरै रकम खर्च गरेर विदेश धाउनु पर्दैन।”

राम्रो आम्दानी हुन थालेपछि अझै ५/७ वटा भैंसी थप्ने योजना रहेको उहाँले सुनाउनुभयो।

बिहान चार बजेदेखि बेलुका आठ बजेसम्म भैंसीको पाडा पाडीको स्याहार सुसार तथा घाँस कुडो पानीको व्यवस्थापनमा दुई जना कामदार सक्रिय छन्। बिहान ४ बजेदेखि ६ बजेसम्म भैंसीको दूध दुहेर ६ बजे गोरखा सदरमुकाममा बेच्न पुग्ने गरेको उहाँको भनाइ छ।