• ५ साउन २०८१, शनिबार

‘घामका फूलहरू’ विमोचन

blog

लेखक तुलसी घिमिरेद्वारा लिखित घामका फूलहरू गजल सङ्ग्रह विमोचन समारोह। तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, साउन ५ गते। मकवानपुरका अग्रज साहित्यकार, गीतकार, गजलकार तुलसी घिमिरेद्वारा लिखित घामका फूलहरू (गजल सङ्ग्रह) शनिबार हेटौँडामा सार्वजनिक गरिएको छ। गजल मञ्च मकवानपुरको आयोजनामा २१५ औँ गजल यात्रा तथा घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो। 

मकवानपुरका साहित्यकारहरूले संयुक्त रूपमा साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभा हलमा कृति विमोचन गर्नुभएको थियो। 

कार्यक्रममा साहित्यकारले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गर्नुभएको हो। साहित्यकार घनश्याम घिमिरेले घामका फूलको समीक्षा गर्दै लेखक वृद्ध अवस्थामा भए पनि युवा जस्तै जोस जाँगर सहितको गजल लेखिएको बताउनुभयो। समीक्षकले लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई सचित्र वर्णन गर्न सफल हुनुभएको प्रतिक्रिया दिनुभयो। 

मकवानपुरमा लामो समयदेखि साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउनुभएका घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित भइसकेको छ। २०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मनुभएका घिमिरेले मकवानपुरलाई कर्मथलो बनाएर नेपाली साहित्यमा योगदान दिइरहनुभएको छ।