• ५ साउन २०८१, शनिबार

सभापति खतिवडाद्वारा २३७ जना पहिरोपीडितलाई राहत वितरण

blog

ओखलढुङ्गा, साउन ५ गते । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले २३७ जना पहिरोपीडितलाई राहत सामग्री वितरण गर्नुभएको छ ।

गत असार १६ गते ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ७ पात्लेको जेसे गौँडा, पहरी बस्ती, गुरुङवारी, तामाङ बस्ती, रचनेलगायतका गाउँमा गएको पहिरोले ४० घर पूर्णरुपमा क्षति हुँदा २३७ प्रभावित भएका थिए ।

खुला आकाश मुनी बसिरहेका उनीहरूलाई सभापति खतिवडाले शनिबार राहत सामग्री वितरण गर्नुभएको हो ।

खतिवडाले ४० बोरा चामल, ४० लिटर खाने तेल,  ४० केजी नुन,  ४० थान त्रिपाल, १५० थान स्लिपिङ ब्याग, बच्चाहरूका लागि दुई सय केजी लिटो, महिला दिदिबहिनीहरुका लागि स्यनेटरी पेड एक सय थान, साबुन दुई सय वटा, मन्जन ५० वटा, ब्रस एक सय वटालगायत अन्य राहत सामग्री वितरण गर्नुभएको स्वकीय सचिव हुकुम राईले जानकारी दिनुभयो । 

खतिवडाले श्री शान्ति सेवा गृह, तिलगंगा, काठमाडौँलाई अनुरोध गरेर श्री शान्ति सेवा गृहले राहत सामग्री उपलब्ध गराएको थियो । 

राहत सामग्री वितरणमा नेपाली कांग्रेस प्रवक्ता प्रदीप वानिया, मोलुङ–०७ को वडा अध्यक्ष हेम सुनुवार, नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश दाहाल, समाजसेवी जित बहादुर पहरी, केशर सिंह कार्की नेता नेपाली कांग्रेस, प्रदेश ‘क’ ओखलढुङ्गा सहसचिव पुष्कर थापा र नेविसंघ जिल्ला सदस्य प्रदीप पहाडीको सहभागिता रहेको थियो ।