• ५ साउन २०८१, शनिबार

मुलुकलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक : अध्यक्ष भट्टराई

blog

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ५ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गर्नुभयो । उहाँले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताउनुभयो । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरूलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो । 

उहाँले भन्नुभयो, ‘‘म अन्धराष्ट्रवादी ढङ्गले कसैलाई गाली गर्ने पक्षमा छैन । तर  भारतको अर्थतन्त्र ठुलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’’

यसैगरी, उहाँले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, ‘‘नेपाल हिमाल, पहाड, तराई मधेशमा बाँढिएको भूगोल र आर्थिक, सामाजिक रूपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा ।’’