• ५ साउन २०८१, शनिबार

व्यास नगर साइनिङ स्टारको दशौँ संस्करण हुने

blog

प्रतियोगिताबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन । तस्बिर अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन ५ गते । 
जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको दशौँ संस्करण हुने भएको छ । व्यास नगर क्षेत्रका १० देखि १४ वर्षसम्मका बालबालिकाहरूको प्रतिभा प्रस्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रूपमा पहिचान स्थापित गरेको कार्यक्रम व्यास नगर साइनिङ स्टार यो वर्ष पनि गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष नवीन पुरीले  बताउनुभयो ।

प्रतियोगिताको अडिसनको मिति साउन ११ र १२ गते हुने शुक्रबार गरिएको पत्रकार सम्मेलनमा जेसिजद्वारा जानकारी दिइएको थियो  । अडिसनबाट छनोट भएका बालबालिकाहरूलाई २७ दिनसम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरी अन्तिम प्रतिस्पर्धा (फिनाले)गर्ने प्रचलन रहेको छ । करिब एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा चार जना निर्णायकहरूको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा हुनेछन् ।

प्रतियोगिताको फाइनल आगामी भदौ ८ गते हुनेछ ।  बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा तालिमका माध्यमबाट बालबालिकाको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर  व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

व्यास नगर साइनिङ स्टार २०२४ को उपाधि जित्नेलाई नगद २५ हजार २४ रुपियाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, फस्ट रनरअपले १५ हजार २४ रुपियाँ र सेकेण्ड रनरअपले १० हजार २४ रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका पूर्व अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाक, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट ड्रेस, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाइस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले सन् २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सनम अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष श्रीकृष्ण सुनार, सचिव रोविन श्रेष्ठ नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, व्यास नगर साइनिङ स्टार २०२३ की विजेता सदिच्छा रानामगर, लगायतकाले यस्ता प्रतियोगिताले बालबालिकाको चौतर्फी विकासमा मद्दत पुग्ने हुँदा आगामी दिनमा समेत निरन्तरता दिनु जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।