• ५ साउन २०८१, शनिबार
blog

चाँगाथलीको चपनी फल्चाको उद्घाटन गर्नुहुँदै ललितपुर महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनलगायत । तस्बिर: दिनेश लुइटेल

ललितपुर, साउन ५ गते। ललितपुरको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले धार्मिक सम्पदा कहिल्यै नमासिने बताउनुभएको छ। शनिबार नगरपालिका वडा नम्बर ७ को चाँगाथलीस्थित धारापाटीमा बनेको ‘चपनी फल्चा’को उद्घाटन गर्दै यस्तो बनाउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘सडक, बाटो र भौतिक संरचना आज बनायो भोलि भत्किन्छन्। तर, धार्मिक सम्पदा कहिल्यै मासिँदैनन्। यस्ता सम्पदा दीर्घकालीन हुन्छन्।’ २०४६ अगाडि फल्चा रहेको तर बिचमा भत्किएको क्षेत्रमा पुनः बनेको फल्चाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।


उहाँले यस्ता सम्पदाको संरक्षणमा स्थानीयको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। महालक्ष्मी नगरपालिकाले बनाएका सबै धार्मिक सम्पदाको संरक्षण टोलवासी र टोल सुधार समितिले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

‘‘चपनी फल्चा निर्माण भइसकेको छ। आजदेखि हामीले तपाईँहरूको साथमा सुम्पिएका छौँ। अब संरक्षण गर्ने जिम्मा तपाईँ टोलवासीको हो’’, उहाँले भन्नुभयो। 

महालक्ष्मी नगर उपप्रमुख लक्ष्मी महर्जनले वैशाख २७ गते शिलान्यास भएको फल्चा साउन ५ गते उद्घाटन हुनु खुसीको कुरा भएको बताउनुभयो। उहाँले जनप्रतिनिधिले फल्चा निर्माणका लागि गरेको सहयोगलाई सम्झिएर संरक्षणमा जुट्न आह्वान गर्नुभयो। 


वडा नम्बर ७ का वडाअध्यक्ष बाबुराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसी, फल्चा निर्माण उपभोक्ता समितिका अध्यक्ष समिनराज शाक्य, ज्येष्ठ नागरिक समाजका अध्यक्ष चन्द्रबहादुर महर्जन र वडा सदस्य विराट सिल्वाल र लुभु प्रहरी प्रभागका प्रमुख डिएसपी हरिबहादुर खड्काले मन्तव्य राख्नुभयो। कार्यक्रममा वडा नम्बर ७ का जनप्रतिनिधि,  धारापाटी टोल विकास, हिमालय टोल विकास संस्था, यति आवास टोल विकास र एकताग्राम टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिति थियो।

१३ फिटको बाटो विकास होइन : वडाध्यक्ष महर्जन  

महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवम् कार्यक्रमका सभापति बाबुराजा महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै १३ फिटको बाटोले टोलको विकास नहुने बताउनुभएको छ। चाँगाथली क्षेत्र विकास हुने ठाउँ भएकाले बृहत् योजना बनाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले योजना नबने सबै क्षेत्र गल्लीमा परिणत हुने उल्लेख गर्नुभयो। 


उहाँले भन्नुभयो, ‘‘यो विकास हुने ठाउँ हो। बृहत् योजना नबन्ने हो भने यो सबै ठाउँ गल्लीमा रूपान्तर हुन्छ। नयाँ बस्तीलाई नमुना बनाउनुपर्छ। १३ फिटको बाटोले कुनै विकास हुँदैन। त्यसैले हामीले ललितपुर महालक्ष्मी नगरपालिका चाँगाथली र भक्तपुरको सिरुटार नगरपालिका जोड्ने सीमा क्षेत्रको बाटोलाई २० फिट बनाउने निर्णय गरिसकेका छौँ।’’ 

उहाँले महालक्ष्मी नगरपालिका र भक्तपुरको सिरुटारको सिमानामा रहेको ढुङ्ग्रे खोलामा कोरिडोर बनाउने तयारी अन्तिम चरणमा पुगेको र यसको डीपीआर प्रदेश सरकारसँग रहेको उल्लेख गर्नुभयो। उहाँले फल्चा निर्माणका लागि २० लाख बजेट विनियोजन भएकोमा १८ लाख ४० हजार मात्र खर्च भएको जानकारी गराउनुभयो। फल्चा महालक्ष्मी नगरपालिकाको वडा नम्बर ७ र ८ को सीमा क्षेत्रमा पर्छ ।