• ५ साउन २०८१, शनिबार

बाँकेमा ६० प्रतिशत रोपाइँ

blog

बाँकेको डुडुवामा रोपाइँ गरिसकिएको खेत । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ५ गते । पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ । 

गत साता केही दिन राम्रो वर्षा भए पनि रोकिएपछि पानीको अभाव हुँदा रोपाइँ सुस्त हुन गई हालसम्म ६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताउनुभयो । 

उहाँले गत साता भएको वर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएकोमा थप वर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताउनुभयो । 

जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यवाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताउनुभयो । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइँ भएको बताउनुभयो । 

निरन्तर केही दिन वर्षा हुने हो भने जिल्लामा रोपाइँ एक साताभित्र सम्पन्न हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकाले अधिकांश किसानले बीउ समेत राख्न पाएका थिएनन् । सो अवधिसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पछि क्रमशः वर्षा भएकोले रोपाइँमा प्रगति भएको छ । 

पानी अभावले रोपाइँमा ढिला हुँदै गए पनि जिल्लामा धान उत्पादन हुने खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्रको अनुमान छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफलको खेतमा धानखेती गरिएको थियो । अहिले पनि रोपाइँ भइरहेको छ ।