• ५ साउन २०८१, शनिबार

विपतजन्य घटनाले नौ जनाको मृत्यु

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा विपत्जन्य घटनाका कारण नौ जनाको मृत्यु भएको छ । पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा विपतजन्य विभिन्न घटनामा नौ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार गत आवमा विभिन्न ६४ वटा विपत्का घटना भएको र उक्त घटनाबाट ९ जनाको मृत्यु भएको छ । यस्तै, विपतजन्य घटनामा परी तीन जना घाइते हुनुभएको छ । 

विपतजन्य घटनाअन्तर्गत गत आवमा बाढीपहिरो र चट्याङका कारण नौ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिनुभयो । सहायक प्रजिअ भट्टराईका अनुसार विपतजन्य घटनाबाट ६४ वटा निजी घर पूर्णरुपमा क्षति भएको छ ।

यता, गत आवमा राहत सहयोगबापत विपत् प्रभावित परिवारलाई २४ लाख आठ हजार रुपियाँ रकम वितरण गरेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समितिमार्फत सो राहत रकम वितरण गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ६१ वटा विपतजन्य घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।