• ५ साउन २०८१, शनिबार

पूर्व कानुनमन्त्री गुरुङद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

blog

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नुहुँदै पूर्व कानुनमन्त्री धनराज गुरूङ । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन ५ गते ।
 बाढीपहिरो पीडित परिवारहरूलाई पूर्व कानुनमन्त्री धनराज गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।

बाढीपहिरोबाट गत असार २२ गते मृत्यु भएका बिरुवा गाउँपालिकाका तीन र भीरकोट नगरपालिकाका एक परिवारलाई गुरुङले नगद १०/१० हजार रुपियाँ सहयोग गर्नुभएको हो ।

बाढीपहिरो प्रभावितका घर आँगनमा पुग्नु भएका गुरुङले घरमै पुगेर आर्थिक सहयोग गर्नुभएको हो ।

गत असार ३० गते जिल्ला प्रशासन कार्यालयले समन्वय र सहकार्यमा राहत वितरण गर्न गराउन स्थानीय सरकारहरूलाई निर्देशन दिएको थियो ।

सोही बमोजिम व्यक्तिगत वा संस्थागत जिन्सी, नगद राहत वितरण गर्दा सम्बन्धित स्थानीय सरकारको सहभागिता र स्वीकृतिमा वितरण गर्न निर्देशन गरेको थियो ।

तर गुरुङले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र स्थानीय सरकारको निर्देशन विपरीत राहत वितरण गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राहत वितरणलाई व्यवस्थित बनाउन र सरकारी रेकर्ड राख्ने प्रयोजनका निम्ति उक्त निर्देशन दिएको बताउनुभयो ।

पूर्व मन्त्री गुरुङले आफूहरूलाई कुनै जानकारी नदिएको बिरुवा गाउँपालिका र भीरकोट गाउँपालिकाले बताएको छ ।