• ५ साउन २०८१, शनिबार

निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढी लाभान्वित

blog

निःशुल्क स्वास्थ्य परीक्षणमा चेकजाँच गर्दै स्थानीय । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, साउन ५ गते ।
 नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा दुई सय १० जनाले फिजिसियन, एक सय ५२ जनाले हाडजोर्नी तथा नसारोग सम्बन्धी, ६० जनाले दन्तसेवा, ७५ जनाले छाला तथा यौनरोग सम्बन्धी, ८९ जनाले इएनटी, एक सय १९ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी, ५५ जनाले बाल विशेषज्ञ र ४८ जनाले पेट तथा आन्द्राको रोग सम्बन्धी सेवा लिइएको कलेज अफ मेडिकल साइन्सेस भरतपुरका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।

शिविरमा डा. मिरा काक्शापति, डा.नेहा कुमारी, डा. कञ्चन गोएङ्का, डा. सफल राजभण्डारी, डा. विजय भुसाल, डा. सुलभ पोख्रेल, डा.उज्ज्वल गिरि, डा. उत्तम खत्री, डा. पङ्कज शाहा, डा. राहुल पाण्डे, डा. सरिता जैसवार, डा.अनु जैसवाल, डा. नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाह, डा. नैना श्रेष्ठ, डा.एलिना वि.क, डा. नकुल तामाङ्, डा. अन्जिला श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै प्रकारका रोगको एकै ठाउँमा परीक्षण गराउन नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशले निःशुल्क शिविर सञ्चालन गरेको सराहनीय रहेको बताउनुभयो । स्थानीयस्तरमा सबैको आयस्रोत समान किसिमको नहुँदा निःशुल्क शिविरले गरिब तथा विपन्न परिवारलाई लाभ मिलेको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको भन्दै समाजमा यस्ता सामाजिक कार्य सबैले गर्दै जानुपर्ने बताउनुभयो । स्वास्थ्य शिविरमा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।