• ५ साउन २०८१, शनिबार

राजस्व सङ्कलन घट्दै गएपछि नेपालगन्ज भन्सारको लक्ष्य एक अर्ब घट्यो

blog

आयात निर्यातका लागि हालै सञ्चालनमा आएको नेपालगन्ज एकीकृत जाँच चौकी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, साउन ५ गते ।
 गत तीन आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य गत आर्थिक वर्षको तुलनामा एक अर्ब घटाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले चालु आर्थिक वर्षका लागि २७ अर्बको हाराहारीमा लक्ष्य निर्धारण भएको जानकारी दिनुभयो ।

विगत तीन आवदेखि लगातार नेपालगन्ज भन्सार कार्यालयले वार्षिक लक्ष्य हासिल गर्न नसकेकाले चालु आवका लागि लक्ष्य नै एक अर्बले घटाएर निर्धारण गरिएको उहाँले बताउनुभयो । अझैपनि ठुलै लक्ष्य तोकिएको जनाउँदै लक्ष्य पूरा गर्ने प्रयास गरिने प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आवमा २०८०/०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण गरिएकोमा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार १९१ रुपियाँ मात्रै असुली गर्न सफल भएको छ ।

आव २०७९/८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएकोमा १८ अर्ब १९ करोड बढी मात्रै राजस्व सङ्कलन गर्न सफल भएको थियो । सोही प्रकारले आव २०७८/०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा २२ अर्ब ३१ करोड राजस्व नेपालगन्ज भन्सारले असुली गरेको थियो ।

आव २०७७/०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजस्व असुली भएपछि त्यसपछिको आर्थिक वर्षहरूमा ह्वात्तै लक्ष्य वृद्धि गरिएको थियो । तर त्यस यताका तीन आर्थिक वर्षमा लक्ष्य भन्दा निकै कम असुली हुँदै आएको छ ।

भन्सार प्रमुख विश्वकर्माले लक्ष्य हासिल गर्न नसकिएका विविध कारणहरूको समीक्षा गरिएको जनाउँदै खुला सिमानाका कारण हुने अवैध आयात र लक्ष्य नै बढी निर्धारण गरिनु प्रमुख कारण रहेको पाइएको बताउनुभयो । त्यसका साथै केही वर्ष यता चिनी र चामलको आयातमा आएको कमीले पनि भन्सार राजस्व घटेको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ । चिनी आयात नहुँदा मात्रै ९० करोड राजस्व सङ्कलनमा कमी आएको उहाँले बताउनुभयो ।

केही महिना पहिलेबाट नेपालगन्ज आईसिपी सञ्चालनमा आइसकेकोले यस क्षेत्रमा आयात निर्यात वृद्धि हुने विश्वास गरिएकोले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि हुने आशा रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।