• ५ साउन २०८१, शनिबार

आर्थिक अभाव झेल्दै झलारी आयुर्वेद औषधालय

blog

कञ्चनपुर, साउन ५ गते । शुक्लाफाँटा नगरपालिका-१० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थामा पुगेका छन् । औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताउनु भयो “मालिस तेल बिरामीलाई औषधालयबाट निः शुल्करुपमा उपलब्ध गराइ पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो, “तेल खरिद गर्ने आवश्यक बजेट नहुँदा सेवा बन्द गर्नु परेको छ ।”

सङ्घीय सरकारबाट अनुदान रकम आउँदा विगतमा औषधीको व्यवस्था मिलाउँदै आएको उल्लेख गर्नु हुँदै उहाँले हाल सङ्घ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउँदा बिरामीको चापअनुसार औषधी पुर्‍याउन पनि धौ-धौँ भएको बताउनुभयो । “केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिँदै आएका छौँ,” उहाँले भन्नुभयो, “केही औषधी सकिएको छ, केही सकिने अवस्थामा पुगेको छ ।” 

सङ्घीय सरकारबाट चालु आबमा ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ । नगरपालिकाबाट बजेट नै विनियोजन गरिएको छ । विनियोजन गर्ने आश्वासन पाइएको औषधालयका कर्मचारीको भनाई रहेको छ । औषधालयमा अम्लपित्त, पायल्स, उदररोग, श्वासप्रश्वास, बाथ, नशा, छालासम्बन्धी रोगका बिरामी बढी आउने गरेका छन् । आव ०८०/८१ मा दुई हजार नौ सय ८९ बिरामीले औषधालयबाट सेवा लिएका छन् । 

औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन् । आव ०७९/८० मा छ हजार बिरामीले सेवा लिएका थिए । गएको आर्थिक वर्षबाटै बजेटको अभाव हुँदा बिरामीको सङ्ख्या घटेको बताइएको छ । रासस