• ५ साउन २०८१, शनिबार

अवैध काठसहित भारतीय गाडी नियन्त्रणमा

blog

फाइल तस्बिर

सञ्जय कुमार मिश्र
गौर, साउन ५ गते ।
 रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी एफओबी जङ्गलसहियाबाट खटिएका गस्ती टोलीले लालबकैया खोला भएर एचपी ३१ सीओ ७७३ नम्बरको भारतीय टाटा सफारी जिपमा अवैध २० क्यु फिट सालको गोली राखेर लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथ गाडी छाडेर भाग्न सफल भए पनि बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका भारतीय नम्बरको टाटा सफारी जिपसहित १५ लाख ६० हजार मूल्य गरेर कारबाहीका लागि वन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले बताउनुभयो ।

यस्तै, भारतबाट अवैध रूपले भन्सार राजस्व छलेर नेपाल भित्र्याइएका एक लाख आठ हजार मूल्य बराबरको किराना सामान नेपाल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतका विभिन्न युनिटहरूबाट खटिएका गस्ती टोलीले राजस्व छलेर अवैध रूपमा नेपाल भित्र्याइएका किराना सामानहरू बरामद गरेको हो ।

एक लाख आठ हजार २३५ रुपियाँ मूल्य बराबरको किराना तथा कपडा लगायतका सामान आवश्यक कारबाहीका लाग गौर भन्सार कार्यालय बुझाएको प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो ।