• ५ साउन २०८१, शनिबार

बस्ती छिरेर चितुवाले गर्‍यो आतङ्क

blog

चितुवाको आक्रमणबाट मृत्यु भएको बालक । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन ५ गते । तनहुँको बन्दीपुर गाउँपालिकावासीको बस्तीमै छिरेर चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीय आतङ्कित भएका छन् ।

जङ्गलमा बस्ने चितुवा बस्तीमा आउने र मान्छेलाई आक्रमण गर्न थालेपछि स्थानीयहरू आतङ्कित हुन थालेका हुन् । चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुनेक्रम नरोकिएकाले स्थानीय त्रसित बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । 

बन्दीपुर बजारस्थित भानु माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत बन्दीपुर –४ सालथान निवासी ११ वर्षीय छोरा सुन्दर अच्छामीलाई बिहीबार साँझ ८ बजे घरकै आँगनमा चितुवाले आक्रमण गरी ज्यान लिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट घाइते बालकको बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको छ । दुई वर्षको अवधिमा बन्दीपुरमा तीन जनाको मृत्यु र तीन जना घाइते भएको उहाँको भनाइ छ । 

बस्तीमा दिउँसै चितुवा आउने गरेको बन्दीपुर –४ सालथानका रामकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीमा आएर मान्छेलाई नै आक्रमण गर्न थालेपछि दिउँसै ढोका लगाएर घरभित्र बस्नु पर्ने अवस्था आएको छ ।’ 

मृतकका काका राजकुमार अच्छामीले पटक पटक बस्तीमा चितुवा आइरहने भएकाले अझै आक्रमणको डर भएको बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले बालबालिकालाई एक्लै नछाड्न, साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, एक्लै नहिड्न, झाडीहरू हटाउन सुझाव दिनुभयो । 

मृग, वनकुखुरा लगायत वन्यजन्तुको मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भएपछि चितुवाले आहारको खोजीमा मानव बस्तीमा आउने गरेको श्रेष्ठको भनाइ छ ।