• ५ साउन २०८१, शनिबार

बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै

blog

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईं । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, साउन ५ गते । 
बाँके जिल्ला अदालतमा पछिल्ला वर्षमा मुद्दाको चाप बढ्दै गइरहेको छ । मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट अनुपात पनि बढेको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा चार हजार ४१७ नयाँ मुद्दा दर्ता भएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७९/८० बाट तीन हजार २३० वटा पुराना मुद्दा जिम्मेवारीमा सरेर आएका थिए । पुराना जिम्मेवारीमा सरेर आएका मुद्दा र नयाँ दर्ता भएका मुद्दा गरेर गत आर्थिक वर्षमा कूल सात हजार ६४७ मुद्दा जिल्ला अदालतमा दर्ता रहेको न्यायाधीश प्रसाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात हजार ६४७ मुद्दामध्ये चार हजार २१५ मुद्दा फर्छ्यौट भएका छन् । पाँच हजार ८१ वटा मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्य रहेपनि गत वर्ष चार हजार २१५ मुद्दा फर्छ्यौट भएका हुन् । जुन लक्ष्यको ८२ दशमलव ९५ प्रतिशत हो भने वार्षिक लगतको आधारमा ५५ दशमलव ११ प्रतिशत रहेको छ । गत आर्थिक वर्षबाट यस वर्षमा फर्छ्यौट हुन बाँकी रहेका तीन हजार ४३२ मुद्दा जिम्मेवारीमा सरेर आएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष ०७९–८० मा नयाँ दर्ता र जिम्मेवारीमा सरेर आएका गरी कूल छ हजार ९४५ मुद्दा रहेको मध्ये तीन हजार ७१५ मुद्दा मात्र फर्छ्यौट भएको अदालतले जनाएको छ । आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा मुद्दा दर्ताको सङ्ख्या पनि बढको हो भने मुद्दा फर्छ्यौट सङ्ख्याको अनुपात पनि बढको हो ।

गत आर्थिक वर्षमा १८ महिना माथिका दुई वर्ष भित्रका १७२ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको र दुई वर्ष नाघेका ७४ वटा मुद्दा मात्र फर्छ्यौट हुन बाँकी रहेको न्यायाधीश प्रसाईँले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्ष नाघेका र आगामी असार मसान्तसम्म दुई वर्ष पुग्न सात सय १८ वटा मुद्दा रहेका छन् ।

“आर्थिक वर्ष ०७९/८० बाट गत आवका लागि जिम्मेवारीमा सरेर आएका तीन हजार २३० मध्ये दुई वर्ष पुगेका ८ सय ७० वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए, जसमध्ये ७४ मुद्दा बाहेक सबै मुद्दा फर्छ्यौट भएका छन् । हामी पुराना मुद्दाको फैसलालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ ।” न्यायाधीश प्रसाईँले भन्नुभयो ।

न्याय सम्पादनका लागि सर्वोच्च अदालतको नीतिअन्तर्गत फरक मुद्दा व्यवस्थापन पद्धति अनुसार मुद्दाको वर्गीकरण गरी न्याय सम्पादन अघि बढाइएको न्यायाधीश प्रसाईँले बताउनुभयो । उहाँका अनुसार मुद्दालाई सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग गरी तीन समूहका वर्गीकरण गरेर सोही अनुसार सेवा प्रवाह गरिएको छ ।

बाँके जिल्ला अदालतमा गत आवमा मेलमिलापसम्बन्धी दुई हजार ९८६ मुद्दा दर्ता भएका थिए । जसमध्ये जम्मा १७९ वटा मुद्दा मात्र सफल भएका छन् । मेलमिलाप पक्षहरू नै अनिच्छुक रहेकाले मेलमिलाप सफल हुन नसकेको न्यायाधीश प्रसाईँको भनाइ छ । उहाँका अनुसार कुनै मुद्दामा वादी र कुनैमा प्रतिवादी अनिच्छुक भएको र कतिमा पक्षहरूबिच कुरा नमिलेका कारण मेलमिलाप सफल हुन नसकेका हुन् ।

चालु आवको साउन १ गतेदेखि बाँके जिल्ला अदालतमा अटो स्वचालित मेसिनद्वारा तारेख र पेशी दिने व्यवस्था मिलाइएको छ । तारेख र पेशी दिँदा हुनसक्ने मानवीय हस्तक्षेप तथा त्रुटि नहोस् भन्नका निम्ति बाँकेसहित देशका ७७ वटै जिल्ला अदालतमा यस्तो व्यवस्था मिलाइएको न्यायाधीश प्रसाईँले जानकारी दिनुभयो ।

पुराना मुद्दाको फैसलालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बाँके जिल्ला अदालतमा ८ जना न्यायाधीशको दरबन्दी रहेपनि हाल ७ जना न्यायाधीशले मात्र सेवा प्रदान गरिरहेका छन् ।