• ५ साउन २०८१, शनिबार

पर्यटकीय स्थल दोमुखा काठ तस्करीको केन्द्रबिन्दु

blog

प्ररीले बरामद गरेको तस्करी गरी ल्याएको काठ । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, साउन ५ गते ।
 झापाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका बिच भएर बग्ने कनकाई नदिको बहावमा बाँस तथा ट्युबको जाली बनाएर साखु जातको काठ चोरी तस्करी नरोकिँदा देशकै पर्यटकीय क्षेत्र दोमुखा काँठ चोरी तस्करीको केन्द्र बन्दै गएको छ ।

कनकाई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले दैनिकजसो बरामद गर्न थालेको  छ । 

शुक्रबार  बिहान करिब ४ः३० बजे शिवसताक्षी १० स्थित कनकाई नदीमा गाडीको ट्युबमा बाँधी अवैध रूपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोजी गरेको थियो ।

त्यसक्रममा अन्दाजी ५७ हजार बराबरको १९ क्यु.फिट चिरान काठ फेला परेको थियो । काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गैडे सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, शनिबार बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको छ । बिहान कबिर ३ः३० बजे अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कनकाई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद भएको हो । अन्दाजी एक लाख ५६ हजार मूल्य बराबरको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा संलग्न मानिसहरू गाडी र काठ छाडेर फरार भएका थिए ।

गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो सँगै यस क्षेत्रमा इलाम जिल्लाका वन क्षेत्रबाट  काठ चोरी तस्करी गरेर झापा तथा छिमेकी मुलुक भारतसम्म समेत नेपालको साँखु जातका काठ चोरी तस्करी हुने क्रम बढेर गएको छ । बेला बखत प्रहरी र सामुदायिक वन समूहले चोरी तस्करीका काठहरू बरामद गरेपनि यसमा संलग्न मानिसहरू भने फरार हुँदै आएका छन् ।

नदिमा पानीको बहाव बढ्ने जेठदेखि असोजसम्म यस क्षेत्रमा दैनिकका जस्तो साखु जातको काठ चोरी तस्करी हुनेगरेको पाइएको छ । पूर्वकै चर्चित पर्यटकीय स्थल दोमुखामा यस प्रकारका काठ चोरीका घटना घट्नुको साटो बढ्दै गए पनि पर्यटकीय क्षेत्रकै बदनामी भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।