• ५ साउन २०८१, शनिबार

चीनमा पुल खस्दा ११ जनाको मृत्यु , ३० बेपत्ता

blog

बेइजिङ, साउन ५ गते । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राती करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।

राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता भएको सिसिटिभीले बताएको छ । 

“हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो”,  प्रसारणकर्ताले बताएको छ ।

राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।

उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिराेबाट प्रभावित भएको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ । रासस/एएफपी