• ५ साउन २०८१, शनिबार

बाढीले तनहुँ जलविद्युत आयोजनामा क्षति

blog

बढीले क्षति पुर्‍याएको ठाउँ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन ५ गते ।
 अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले तनहुँ जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’मा क्षति पुगेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।

क्षतिको मूल्याङ्कनको काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

भण्डारीले भन्नुभयो, ‘‘अस्थायी डाइभर्सन टनेल बनिसकेकाले कम क्षति भएको छ । बिमा कम्पनी र प्राविधिक टोलीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।’’ भण्डारीका अनुसार बाढीले क्रसिङ प्लान्ट (गिट्टी र बालुवा उत्पादन गर्ने) र (कुलिङ प्लान्ट (गिट्टी र बालुवालाई चिसो बनाउने) ठाउँमा क्षति पुगेको छ ।

सामानको रातको समयमा स–साना बक्समा रहेका सातवटा बक्सा बगाएको आयोजनाले जनाएको छ । हाल दुवै प्लान्टका इक्युप्मेन्ट बाढीले बगाउने खतरा बढेपछि सुरक्षित स्थानमा सारिएको छ ।

प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । उहाँका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशतका साथै आयोजनाको समग्रमा ५८ प्रतिशत प्रगति भएको भण्डारीले बताउनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुनेछ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमता तनहुँ जलविद्युत् आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।