• ५ साउन २०८१, शनिबार

विष खुवाएर दुई महिने शिशुको हत्या, आमा पक्राउ

blog

शेरबहादुर राई
ओखलढुङ्गा, साउन ५ गते । 
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । जन्मेदेखि रोई राख्ने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दिपकुमारीलाई प्रहरीले सोही दिन पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।