• ५ साउन २०८१, शनिबार

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

blog

काठमाडौँ, साउन ५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान द्वारिकाज होटल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । 

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताउनुभयो । उहाँले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गर्नुभएको छ । 

श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्व श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ ।