• ५ साउन २०८१, शनिबार

मावोको ‘डोलीभर्ना’मा लिम्बू संस्कृतिको चित्रण

blog

काठमाडौँ, साउन ५ गते । पूर्वी नेपालको मुन्धुमी संस्कृति संस्कार, जीवन पद्धतिका १५ वटा कथा समेटिएको कथासङ्ग्रह ‘डोलीभर्ना’ शुव्रmबार सार्वजनिक गरिएको छ । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएका डा. चित्र मावो (चित्रकुमार लिम्बू) को सो कृति पूर्वमन्त्री योगेश भट्टराई, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद  सुवेदी र  सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले सार्वजनिक गर्नुभएको हो ।

पूर्वमन्त्री योगेश भट्टराईले विविधताबिचको एकता कायम गरी बसेको नेपाली समाजमा हरेक जातिले अर्को जाति, समुदायको संस्कृति परम्पराको सम्मान गर्दै सहअस्तित्वलाई स्वीकार गर्दै बाँचेको बताउनुभयो । उहाँले लेखक डा. चित्र मावोको कृतिले लिम्बू परम्परालाई पुस्तान्तरण गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले डोलीभर्नामा सङ्गृहीत कथामार्फत लेखक डा. चित्र मावोले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिको परम्परा, संस्कृतिलाई साहित्यिक ढङ्गले आजको पुस्ता र भोलिका पुस्तालाई समेत जानकारी दिन सफल भएको चर्चा गर्नुभयो ।

उहाँले सो पुस्तकका कथाले माओवादीको सशस्त्र सङ्घर्षले निम्त्याएको मनोविज्ञानसहित तीन दशकयताको पूर्वी नेपाललगायत देशकै अवस्था बोलेको बताउनुभयो । 

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले डोलीभर्नाले आदिवासी सौन्दर्य चेतसहित पाठकलाई पूर्वको लिम्बू संस्कृतिसँग नजिक हुन जान्ने र भावी पुस्तालाई हस्तान्तरण गर्ने अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले लेखक डा. चित्र मावो उक्त कृतिबाट साहित्य फाँटमा उदाएको र नेपाली समाजले बेहोरेका यथार्थ अवस्थालाई समेत कथाबाट भन्ने जमर्को गरेको बताउनुभयो । 

लेखक डा. मावोले आफू जन्मिएको पूर्वको पनि सुदूरमा रहेको ताप्लेजुङको सिरिजङ्घाबाट माथि हेर्दा जङ्गल र कञ्चनजङ्घा हिमालको शिर मात्र देख्ने ठाउँमा भौतिक विकासको अभावबिच पनि मौलाएको संस्कृति, लिम्बू सभ्यताबाट प्रेरित भएर डोलीभर्ना प्रकाशन गर्न सफल भएको बताउनुभयो ।