• ५ साउन २०८१, शनिबार

पाँच प्रश्न

चेतनासहित जीवन बाँच्ने कला हो, रङ्गमञ्च: नायिका राई

blog

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ बाट चर्चामा आएकी नायिका पशुपति राईले अभिनयमा दुई दशक बिताइसक्नुभएको छ । नायिका राईले ३० भन्दा बढी नाटक र १२ वटा चलचित्रमा अभिनय गरिसक्नुभएको छ । चलचित्र ‘कबड्डी’ ले पशुपतिलाई दर्शकबिच बढी चर्चामा ल्याएको थियो । उहाँले ‘बाठी रानी’, ‘मायादेवीको सपना’, ‘बाघ भैरव’, ‘सपनाको साविति’, ‘नेपाली आमा’, ‘एल्ममुनिको तिर्खा’ लगायत नाटकमा अभियन गर्नुभएको छ । बढी नाटक र ‘कबड्डी’, ‘जारी’, ‘हल्कारा’, ‘बाटो’, ‘गाउँ आएको बाटो’ लगायत चलचित्रमा अभिनय गर्नुभएकी नायिका पशुपति राईसँग गोरखापत्रका लागि समाचारदाता सुकृत नेपालले गर्नुभएको कुराकानी–  

अभिनय क्षेत्रमा किन लाग्नुभयो ?   

अभिनयमा लागेको पनि दुई दशक भएछ । जीवन बाँच्नका लागि केही न केही गरिरहनुपर्ने हुनाले रङ्गमञ्चमा म लागेकी हुँ । यो एउटा चेतनासहितको जीवन बाँच्ने कला हो । जसले एउटा ठुलो क्यानभास दिन्छ । जीवन सँगसँगैको ठाउँ हो जहाँ हामी जीवन जिउने कला सिकिरहेका छौँ । रङ्गमञ्चमा आइपुग्नु मेरो अहोभाग्य हो । यसले मलाई धेरै कुरा सिकाएको छ । 

यदि म रङ्गमञ्चमा हुँदैन्थेँ भने पनि मेरो आफ्नै किसिमका परिवर्तन हुन्थे होला । यो क्षेत्रमा लागिसकेपछि मैले सबै मान्छेलाई समान किसिमले हेर्न सिकेकी छु । म समाजको एउटा जिम्मेवार संवेदनशील महिलाका रूपमा रङ्गमञ्चले मलाई विकसित गर्दै लगेको हो कि जस्तो लाग्छ । 

पछिल्लो समय रङ्गमञ्चभन्दा चलचित्रमा बढी देखिनुभएको छ ?

मलाई नाटकमा पनि दर्शकले रुचाउनु नै भएको हो तर चलचित्रमार्फत अझ बढी दर्शकको बिचमा पुगिने रहेछ । त्यहाँ अझ बढी सफलताको कथा बन्ने रहेछ । 

चलचित्र भनेको ठुलो समूहमा जाने माध्यम पनि रहेछ । त्यहाँ गइसकेपछि हेर्ने दृष्टिकोण फरक हुने रहेछ । त्यहाँ पुगेपछि मात्रै कलाकार हो भन्ने मान्यता स्थापित हुने रहेछ । यसले सम्भवतः कतै न कतै, कहीँ न कहीँ खुसी दिनेरहेछ । धेरै समयपछि अचानक चलचित्रमा नाम कमाउन थालेपछि आफूलाई केही गर्छु कि भन्ने लाग्दोरहेछ ।

अभिनयको हिसाबले रङ्गमञ्च र चलचित्रमा कुन सजिलो हो जस्तो लाग्छ ? 

म रङ्गमञ्च र चलचित्रमा खासै फरक पाउँदिनँ । मलाई यो एउटै क्षेत्र हो जस्तो लाग्छ । नाटकले नि आफ्नै तरिकाले कथा भन्ने हो र चलचित्रमा पनि त्यही  लागु हुने हो । रङ्गमञ्च र चलचित्र निकै पर भन्ने पनि होइन,  यो त नजिक नजिककै चिज हो । सबैलाई आफूले चिनोस् र अलि धेरै प्रचार पाओस् भन्ने हिसाबले पनि चलचित्रमा लागेका हुन सक्छन् । म चलचित्रमा इच्छा लागेर गएकी होइन, काम गर्दै जाँदा त्यस्तै परिस्थिति आयो र चलचित्रमा पाइला टेकेकी हुँ । गाउँ आएको बाटोभन्दा पहिला पनि मैले धेरै चलचित्रमा अभिनय गरिसकेकी थिएँ । चलचित्र कबड्डीमा अभिनय गर्नका लागि चिनेका दाइले चलचित्रमा पनि अभिनय गर्दा हुन्छ भन्ने अफर गर्नुहुने गरेकाले पनि यसमा लागेकी हुँ । त्यतिबेला चलचित्रमा अभिनय गर्दा कस्तो हुने रहेछ भनेर काम गरियो । त्यतिबेला एक खालको बाध्यता पनि थियो । फेरि त्यतिबेला हामीलाई दर्शकको लोभ पनि थियो । धेरैभन्दा धेरै दर्शकमाझ आफूलाई चिनाउने कलाकारको चाहना पनि हुन्छ । 

तपाईं चलचित्रमा प्रायः सहायक भूमिकामा मात्र देखिनुहुन्छ, प्रमुख भूमिकाका लागि अफर कमै आउँछन् हो ? 

नेपाली चलचित्र बिक्ने भनेको अनुहार नै हो । फेरि चलचित्रमा आफूलाई जस्तो भूमिका सुहाउँछ त्यही गर्ने हो । म तपाईंको अगाडि अन्तर्वार्ता दिँदै नै छु । अब आफैँ अनुमान लगाउनुहोस् मलाई कस्तो भूमिका सुहाउँछ । मेरो अनुहार बिक्ने कथा नआएपछि मलाई जबरजस्ती लिडमा हालेर पनि त भएन । 

एउटा चलचित्रमा अभिनय गरेबापत कति पारिश्रमिक पाइन्छ ? 

मैले एकदमै धेरै पाएकी छैन । धेरै लिएको भनेकै ‘गाउँ आएको बाटो’ मा दुई लाख हो । हामीलाई पारिश्रमिक कम दिनुको कारण एक हिसाबले सहायक कलाकार भएर अभिनय गर्नाले पनि हो । गाउँ आएको बाटोमा पारिश्रमिक राम्रो पाएको सहमतिमै हो । सामुदायिक हिसाबले चलचित्र बनाउने भनेर पनि हो ।