• ५ साउन २०८१, शनिबार

संसद् भवन निर्माण ढिलो भएकोमा चिन्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन  गते ।  सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणमा चासो देखाउँदै निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ । उहाँले आयोजनाको काम  छिटो सक्न निर्देशन पनि दिनुभयो । सभामुख घिमिरेले शुक्रबार आफ्नो कार्यकक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन विभागका महानिर्देशक कुमारप्रसाद घिमिरे, संसद् भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनलाई बोलाएर संसद् भवन निर्माण ढिलो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “कामको प्रगति सन्तोषजनक छैन । अहिलेकै गतिमा निर्धारित समयभित्र संसद् भवनको निर्माण सम्भव देखिँदैन । छिटो काम सम्पन्न गर्न दुई ‘सिफ्ट’ मा काम गर्ने भनिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । दुई ‘सिफ्ट’ त गफै मात्र भयो । एक ‘सिफ्ट’ मा पनि चाहिने जनशक्ति प्रयोग भएको देखिँदैन ।” उहाँले अबको एक महिनामा संसद् भवन निर्माण प्रगतिबारे पुनः समीक्षा बैठक हुने र थप गरिएको म्यादभित्र काम हुनु पर्छ भन्नुभयो । संसद् भवन निर्माणको म्याद २०८१ चैत मसान्तसम्म थप गरिएको छ । यसअघि यस वर्षको मङ्सिर मसान्तसम्म संसद् भवनको सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी लिखित निर्णय नै गरिएको थियो ।

सभामुख घिमिरेले निर्माणाधीन संसद् भवनमा अहिले सात इन्चको टेलिभिजन स्व्रिmन राखिएकोप्रति सबैको ध्यानाकर्षण गराउँदै भन्नुभयो, “अहिले बजारमा धेरै ठुला स्व्रिmन भएको टेलिभिजन आइसकेको छ । ठुला स्व्रिmनको टेलिभिजनमा अक्षर पनि ठुलो आउँछ ।” उहाँले यस प्रकारको विषयमा ध्यान पु-याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवन निर्माणका क्रममा कुनै कानुनी अप्ठ्यारो भए त्यसलाई सुल्झाउन आफूहरू तयार रहेको बताउँदै संसद् भवन अन्तर्राष्ट्रिय पहिचानसहितको राष्ट्रिय सम्पत्ति भएकाले यसको साजसज्जा गुणस्तरीय र आकर्षक हुनुपर्नेमा जोड दिनुभयो ।