• ५ साउन २०८१, शनिबार

खण्डहर बने गाउँका ‘दरबार’

blog

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको धनकुटाको मुगामा रहेको जीर्ण ५२ ढोके घर । यो २०७३ सालको अवस्था हो । अहिले यो स्थानमा झाडी मात्र छ ।

कविराज घिमिरे 

हिले, साउन ५ गते । दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगाका भव्य संरचना देखेर मोहित हुन्थे तर अहिले मुगा गाउँका ती आलिसान महल खण्डहरमा परिणत हुँदै छन् । 

पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मुगा गाउँको बिचमा रहेको ५२ ढोकाको घर पनि दरबारकै रूपले परिचित थियो । पूर्वप्रधानमन्त्री थापाको ५२ ढोके ऐतिहासिक घर द्वन्द्वकालमा भत्कियो । २०१५ सालमा मुगाबाट काठमाडाँै आए पनि जुनसुकै अवस्थामा जन्मभूमि बिर्सिन हुँदैन भन्दै उहाँ जन्मघर पुगिरहनुहुन्थ्यो । उहाँका छोरा सुनीलबहादुर थापाले २०५८ सालसम्म बुवा र आफूहरू मुगाको घरमा आउजाउ गर्ने गरेको स्मरण गर्नुभयो । तत्कालीन किराँत वर्कर्स पार्टीका कार्यकर्ताले घरमा आगो लगाइदिए । अहिले पूर्वप्रधानमन्त्री थापा मुगा गएर बस्ने घरको नामनिसान छैन । सूर्यबहादुर थापा ट्रस्टको नामबाट पुरानै शैलीको घर बनाउने भनिएको बर्सौं भए पनि अहिलेसम्म निर्माण थालिएको छैन । 

पाख्रिबास नगरपालिका–८, मुगामा पूर्वप्रधानमन्त्री थापासँगै अजितनारायणसिंह थापा, अर्जुन थापा, सुनीलबहादुर थापा, कुमार थापा पनि मुगामै जन्मिनुभएको हो । प्रायः सबै थापा परिवारको घर मुगामा दरबारिया शैलीमा निर्माण भएका थिए तर पछिल्लो समय ती घर नासिने क्रममा छन् । अजितनारायणसिंह थापा र अर्जुन थापाको घर पनि संरक्षण अभावमा जीर्ण बनेका छन् । 

स्थानीय चन्द्रमणि घिमिरेले पुराना घर संरक्षणमा नयाँ पुस्ताले चासो नदिएका कारण मुगामा ऐतिहासिक घर मासिने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना पुस्ता अहिले छैनन् । नयाँ पुस्ता काठमाडौँ, विराटनगर र विदेश पुगेका छन् । अनि यहाँ कसले हेरिदिने, संरक्षण गरिदिने ?” 

स्थानीय कपिल थापाका अनुसार बसाइँसराइका कारण घर कुरिदिने कोही नहुँदा ऐतिहासिक घरको संरक्षण हुन नसकेको हो । उहाँले पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा मुगा गाउँ नै ओझेलमा परेको बताउनुभयो । 

आन्तरिक पर्यटक पुगिरहने मुगा अहिले सुनसान छ । पहिले मुगामा निकै चहलपहल हुन्थ्यो तर ‘थापाकाजी’ हरू विस्थापित भएसँगै गाउँमा चहलपहल छैन । थापाहरूले गाउँ छाडे पनि स्थानीय सरकारले बाँकी रहेका संरचना जोगाएर सडक बनाइदिए पर्यटक फर्काउन सकिने विश्वास स्थानीयको छ । 

मुगा र थापाको सम्बन्ध

धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ रहेको मुगा गाउँ गाडीमा एक घण्टामा पुगिन्छ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको त्यही ठाउँ पुगेको र बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ । स्थानीय कुमारबहादुर थापाका अनुसार कालान्तरमा यो गाउँ उनै रामकृष्णका सन्तानले भरिएपछि मुगाली थापा भनेर चिनिन थाल्यो । उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला माँझकिराँत जितेर हतुवागढी र हतुवागढी जितेर अरुण तरेर मुगासम्म आइपुग्दा पृथ्वीनारायण शाह आफू फर्किएर रणबहादुर शाहलाई जिम्मा दिएको इतिहास छ । त्यो बेला गोर्खाली सेनाको कमान्डर सरदार रामकृष्ण थापा थिए । त्यो बेला पहिलो क्याम्प मुगाको राजदेवीमा खडा भएको हो ।”

तर, पछिल्लो समय अधिकांश थापा परिवार यहाँबाट बसाइँ सरिसकेका छन् । त्यससँगै बर्सौं पुराना इतिहास र कलाकौशल देख्न पाइने मुगामा पुराना घर मासिँदै छन् । दुई दर्जनभन्दा बढी रहेका यस्ता घर अहिले केही मात्र छन् । थापाले ती घर पनि संरक्षण अभावमा जीर्ण भएको बताउनुभयो । 

मुगामा दरबारिया शैली 

मुगामा ठुला र दरबारिया शैलीका घर निर्माणको कथा बेग्लै छ । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले चिनियाँ राजदूतावासबाट ल्याएको चियाको बिरुवा कप्तान करवीर थापाले इलाम लगेर इलाममा चिया विस्तार गर्नुभएको थियो । इलाममा बसोबास गर्दै गर्दा करवीरको आउजाउ दार्जिलिङतिर हुन थालेपछि दार्जिलिङबाट टाटाको टिन ल्याएर कलात्मक घर बनाउन सुरु गर्नुभएको थियो ।

पछि उहाँका छोरा लप्टन टेकबहादुर थापाले तत्कालीन राणाहरूको सहयोगमा मुगामै ५२ ढोके दरबार शैलीको घर निर्माण गर्नुभएको थियो । धनकुटाको इतिहासका जानकार गोपाल भण्डारीले क्रमशः अन्य थापा परिवारले पनि आकर्षक घर निर्माण गरेको बताउनुभयो । उहाँले अधिकांश घर राणाकालीन समयमा बनेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “थापा परिवारका व्यक्ति कृषि कर्म गर्ने सरकारी जागिर खाने, जागिरका क्रममा विभिन्न ठाउँ घुम्ने र राणासँँग नजिक भएकाले बाहिर देखेको जस्ता ठुला र आकर्षक घर निर्माण गर्न तत्कालीन राणाहरूले पनि अवरोध गर्दैनथे । त्यसैले थापाहरूले अरूको भन्दा ठुला र आकर्षक घर बनाएका हुन् ।”

धनकुटाका अन्य ऐतिहासिक घर 

मुगासहित छथरजोरपाटी गाउँपालिकाको सिबुवा, तेलिया तथा महालक्ष्मी नगरपालिका–५, लेगुवा आसपास तथा धनकुटा नगरपालिकामा दरबारिया शैलीका घर निर्माण भएको जानकारहरू बताउँछन् । सिबुवा पूर्वप्रधानमन्त्री नगेन्द्र रिजाल जन्मिएको गाउँ हो । उहाँका पितापुर्खाले सो गाउँमा तत्कालीन समयमा दरबारिया शैलीका घर निर्माण गरेका थिए । 

त्यस्तै राणाकालीन समयमा नरपति आचार्यले तेलियामा तथा चन्द्रप्रसाद आचार्य, यज्ञप्रसाद आचार्यलगायतका आचार्यले सिबुवामा दरबारिया शैलीका घर निर्माण गर्नुभएको हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्य बताउनुहुन्छ तर अहिले ती दरबारिया शैलीका घर मासिइसकेको उहाँको भनाइ छ । त्यस्तै लेगुवामा नागेश्वर गुठीका महन्तहरूले तत्कालीन समयमा त्यस्ता घर निर्माण गर्ने गरेको खोजकर्ता गोपाल भण्डारी बताउनुहुन्छ । तर, पछिल्लो समय ती घरको समेत नामोनिसान छैन । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ५२ ढोके घर भएको ठाउँमा ‘सूर्यबहादुर थापा मेमोरियल म्युजियम’ बनाउने तयारी गरिएको छ । पुरानो घर भग्नावशेष भएपछि सोही स्थानमा सङ्ग्रहालय बनाउन लागेको छोरा सुनीलबहादुर थापाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सहरी विकास कार्यालयमार्फत डिपिआर निर्माणको काम भइरहेको उहाँको भनाइ छ ।