• १३ साउन २०८१, आइतबार

पहिरोको जोखिमले पालो गरेर सुत्छन् गाउँले

blog

पहिरोको जोखिममा रहेको गल्याङ नगरपालिका–३ को लल्याङ गाउँ अनुगमनका लागि पुगेका प्रमुख जिल्ला अधिकारीसहितको टोली ।

वालिङ समाचारदाता 

वालिङ, साउन ४ गते । स्याङ्जाको गल्याङ नगरपालिका–३, लल्याङका स्थानीय हरेक वर्ष पानी नपरिदिए हुन्थ्यो भन्ने कामना गर्छन् । स्थानीय लिलदेव भट्टराई भन्नुहुन्छ, “पानी परेपछि हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ । कति बेला के होला भन्ने त्रासमा नै हामी सबै गाउँले रातभर जाग्राम बस्छौैँ ।” यो वर्ष परेको ठुलो पानीका कारण लिलदेवको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उहाँ छिमेकीको घरमा बस्दै आउनुभएको छ । 

लल्याङ गाउँको तल जमिनभित्रबाट बुटवल पावर कम्पनी (बिपिसी) को सुरुङमार्ग छ भने माथिबाट सिँचाइका लागि बनाइएको नहर छ । बिपिसीको पावर हाउसमा विद्युत् उत्पादनपश्चात् सिँचाइका लागि लगिएको पानी यही गाउँ हुँदै पाल्पाको हेक्लाङसम्म पु-याइएको छ । 

पहिरोका कारण सिङ्गो गाउँ नै धरापमा परेपछि गाउँले त्रासमा बस्न बाध्य छन् । स्थानीय युवराज भट्टराईका अनुसार रातिको समयमा ठुलो पानी परेपछि गाउँले पालो गरेर सुत्छन् । उहाँ भन्नुहुन्छ, “बर्साैं भयो हामी पीडामा बाँचेको कहीँ कतैबाट सुनुवाइ भएन ।” लल्याङमा ५७ परिवारका चार सय जना बस्दै आएका छन् । गाउँ नै जोखिममा परेपछि अहिले गाउँले बसाइ सरेर जाने तरखरमा छन् । स्थानीयको एउटै माग छ– आफूहरूलाई घरबारविहीन हुनबाट बचाइ दिनु प-यो । 

गाउँले हरेक वर्षायाममा घर चर्किने, धस्सिने समस्या खेप्दै आएका छन् । पछिल्लो समय गाउँको तल्लो भागमा रहेको छर्ती खोलाको किनारबाट समेत पहिरो जान थालेको युवराज भट्टराईले बताउनुभयो । गाउँलाई पहिरोको जोखिमबाट बचाउन विभिन्न प्रयास गर्दै आएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो  । ३० वर्ष  पुरानो नहर व्यवस्थापनका लागि माग गरे अनुसारको योजना नदिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले प्रदेश, सङ्घमा पालिकाको तर्फबाट एक नम्बरमा माग र सिफारिस गरेका थियौँ तर कुनै सुनुवाइ नै भएन ।” प्रदेशले योजना छनोट गर्दा आवश्यकताको मूल्याङ्कन नगरेको उहाँको आरोप छ । 

यसैबिच स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसहितको टोलीले जोखिममा परेको सिङ्गो गाउँको स्थलगत अवलोकन गरेको छ । भूमिसम्बन्धी विज्ञसहितको टोलीले स्थलगत अनुगमन र जमिनको अवस्थाबारे जानकारी लिएको हो । वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले अब के गर्ने भन्ने योजना बनाउने काम भइरहेको बताउनुभयो ।