• १३ साउन २०८१, आइतबार

जोखिमयुक्त भिरमा मह काढ्दै युवा

blog

म्याग्दी समाचारदाता

म्याग्दी, साउन ४ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाले मह सिकार गरेका छन् । स्थानीय राम्जा टोलका विकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पुर्जा र बेग पुनलगायत १७ जनाको टोलीले यो असारमा भिर मौरीको मह सिकार गरेका हुन् । 

निकै जोखिमपूर्ण रहेको भिरको मह सिकार गर्न आफ्नो ढाडमा डोरी बाँधी झुन्डिएर मह सिकारका लागि स्थानीय प्रविधिबाट तयार गरिएको बाँसको चोया र काठ प्रयोग गरी बनाइएको लामो भ-याङ (स्थानीय भाषामा पराङ) मा झुन्डिएर मह काढ्ने गरेका छन् । दोबाको राम्जा पुनटोल समूहबाट यस वर्ष मह सिकार गर्ने पालो परेको थियो । टोलीका सदस्य विकास पुनले गएको चैतमा सिकार गर्दा चार सय लिटर मह निकालेकोमा यो असारमा भने १२५ लिटर मात्रै मह निकाल्न सकेको बताउनुभयो । गत चैतमा १९ जनाको टोलीले सिकार गरेको भए पनि यस पटक भने १७ जना मात्रै गएको पुनको भनाइ छ । 

अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीपकुमार गर्बुजाले दोवा गाउँको घाँस कुच्चे छहरा, महर्तला भिर, परिम पहरा, गौथली भिर, खोम्सरा पहरामा युवाले मह सिकार गरिरहेको बताउनुभयो । यसलाई स्थानीय युवाले आफ्नो पुख्र्यौली पेसा र परम्परा पनि ठान्ने गरेकोे उहाँको भनाइ छ । दोवा क्षेत्रका विभिन्न पाँच वटा टोलले हरेक वर्ष पालैपालो मह सिकार गर्ने गरेको गर्बुजाले बताउनुभयो । डरलाग्दो अक्करे भिरमा जोखिम मोलेर गरिने साहसिक कार्य मह सिकारमा निस्किने युवाले पराङमा झुन्डिएर मौरीको चाकानजिक पुगेर मह निकाल्ने गर्दछन् । 

एक स्थानबाट मह निकाल्न तीनदेखि पाँच घण्टासम्म भिरमै झुन्डिन पर्ने र अन्य तयारीका लागि पनि समय लाग्ने हुँदा एकै ठाउँमा दिनभर समय खर्चिने मह सिकारीको भनाइ छ । भिरमह काढ्दा परङमार्फत गएका सिकारीले मौरीको चाका रहेको स्थानमा आगोको धुवाँ हालेपछि मौरी भाग्ने र मह निकाल्न सहज हुने भए पनि थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा धेरै समय खर्चनु पर्छ । सुरुमा मौरी भएको ठाउँसम्म धुवाँ पु-याइन्छ । धुवाँले मौरी लट्ठ परेर चाका छाड्छ अनि मात्र सिकारीलाई मह काढ्न सजिलो हुन्छ । 

मह निकाल्नका लागि ठुलो समूह जाने र भिरको माथिबाट तल भुइँसम्म डोरीको सहायताले महका चाका झार्ने र भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । ठुलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्ने मह सिकारी युवा बेग राम्जालीको भनाइ छ । झन्डै चार सयदेखि एक हजार मिटरसम्मको उचाइका पहराबाट यस वर्ष हालसम्म ५२५ लिटर मह निकालिएको विकास पुनले बताउनुभयो । बिक्री भएको मह समूहमार्फत बेचेर युवाले घरखर्च चलाउने गरेका छन् । दोबाको मह नेपालभित्र प्रतिलिटर तीन हजार पाँच सय रुपियाँमा बिव्रmी हुुन्छ भने विदेशमा रहेका नेपालीको समेत रोजाइमा पर्ने गरेको छ । 

भिरमह पाइने आसपासका क्षेत्रमा सुन्दर झरना भएकाले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ । बस्तीबाट धेरै टाढा भिर क्षेत्रमा पछिल्लो समय भिरमौरीको बथान बढ्दै गएकाले संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने वडाध्यक्ष गर्बुजाको भनाइ छ । वडाभित्र रहेका टोलले हरेक वर्ष पालैपालो मह निकाल्ने नियम बनाइएको उहाँले बताउनुभयो । पछिल्लो समय स्थानीयलाई भिरमा जाँदा आवश्यक पर्ने सुरक्षाको उपकरणमा ध्यान दिन अनुरोध गर्ने गरिएको वडाध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।

हिमाली जिल्ला म्याग्दीको दोबाबाहेक कुइनेमङ्गले, लुलाङ, गुर्जा, चिमखोला, दग्नाम, दाना, शिख, हिस्तानको दोसल्लेलगायतका स्थानमा भिरमह पाइन्छ । भिरमह काढ्न जोखिमपूर्ण भए पनि बजारको कुनै समस्या नभएकाले युवाको सव्रिmयता बढेको छ । स्थानीय तह, वडा, आमा समूहलाई शुल्क तिरेर मह निकाल्ने गरिन्छ ।