• १२ साउन २०८१, शनिबार

वारङ्गीमा कफीको व्यावसायिक खेती

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ३ गते । मोरङको लेटाङ–७, वारङ्गीमा कफीको व्यावसायिक खेती गरिएको छ । वारङ्गीका ३४ वर्षीय राजविव्रmम राईले चार वर्षअघि व्यावसायिक रूपमा कफी खेती सुरु गर्नुभएको हो । सुरुमा अदुवा, कुचो र तेजपात (सिन्कौली) खेती गर्ने किसान अहिले कफी खेतीमा लागेका हुन् । 

परम्परागत रूपमा अदुवा, कुचो (अम्लिसो) र तेजपात खेती गर्ने जग्गामा कफी गर्दा आम्दानी दोब्बर हुन थालेको राजविक्रम राईले बताउनुभयो । ५० रोपनी जग्गामा विभिन्न प्रजातिका कफीका बिरुवा लगाउनुभएका राईले भन्नुभयो, “अबको पाँच वर्षपछि वार्षिक ५० लाख रुपियाँ आम्दानी लिने लक्ष्य छ । राईले कफी खेती विस्तार गर्ने र २०/३० जनालाई रोजगार दिने सपना बुनेर व्यवसाय विस्तार गरिरहनुभएको छ ।” 

कफी मात्र होइन । उहाँले जापानिज कटुसको पनि व्यावसायिक खेती थाल्नुभएको छ । नेपाली बजारमा जापानिज कटुस प्रतिकेजी चार सय रुपियाँ केजीमा बिक्री भइरहेको छ । हाल वार्षिक चार सय केजी कफी बिक्री गरिरहनुभएका राईले भन्नुभयो, “कफी बिक्रीबाट तीन लाख रुपियाँ आम्दानी भइरहेको छ ।” प्रशोधित कफी, कफीका दाना र कफीका बिरुवासमेत बिक्री गरिरहनुभएका राईलाई परिवारका सदस्यको भरपुर सहयोग छ । राईको नर्सरीमा हाल ४० हजार बिरुवा रोप्न लायक भएका छन् । देशभरका विभिन्न पालिकाले राईको नर्सरीसँग बिरुवा माग गर्ने गर्छन् । राईले हालसम्म कफी खेतीमा १७ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।  

राजविव्रmमको कफी खेती देखेपछि स्थानीय छिमेकीले पनि राईको व्यवसायलाई पछ्याएका छन् । कर्णबहादुर लिम्बूले ११ रोपनीमा कफी खेती लगाउनुभएको छ । दाना उत्पादन गर्ने र बिव्रmी गर्ने किसान १५० भन्दा बढी हुनुहुन्छ । त्यसमा २२ जना किसानले ठुलो परिमाणमा खेती गर्नुभएको छ । गाउँमा वारङ्गी कफी कृषक समूह गठन गरिएको छ । सोही संस्थामार्फत किसानले कफी खेतीसम्बन्धी तालिम, शिक्षा लिइरहनुभएको छ । 

महाभारत अर्गानिक कफी फार्मका सञ्चालक चन्द्रबहादुर राईले दुई सय रोपनीमा कफी खेती लगाउनुभएको छ । राईले भन्नुभयो, “कफी खेतीले गर्दा गाउँ छोड्न पाइएन । विद्यालयको जागिर छोडेर व्यावसायिक कफी खेतीमा लाग्नुभएका राई बिहानदेखि बेलुकासम्म कफी बारीमै बिताउनु हुन्छ । कफी खेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी भइरहेको राई बताउनुहुन्छ ।” उहाँ भन्नुहुन्छ, “बिरुवा र दाना बिक्रीबाट पनि राम्रो आम्दानी भइरहेको छ ।” 

सामान्यतः एक रोपनी कफी खेतीबाट ८० हजार रुपियाँ आम्दानी लिन सकिन्छ । जबकि मकै, गहुँ, कोदो खेतीबाट १० हजार रुपियाँ आम्दानी हुन पनि मुस्किल पर्छ । अहिले किसान धमाधम परम्परागत खेती छोडेर व्यावसायिक कफी खेतीमा लागेका छन् । 

लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षमा कृषिको व्यावसायीकरण र यान्त्रिकरणका लागि एक करोड रुपियाँ विनियोजन गरेको लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । कृषि उत्पादनका क्षेत्रमा कोशी प्रदेशको नमुना नगर बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । नगरले अलैँची, अदुवा, तेजपात, अम्लिसो, सुन्तला उत्पादनका लागि फरक फरक कार्यक्रम सञ्चालन गरिरहेको छ ।