• ३ साउन २०८१, बिहिबार

सिमलताल दुर्घटना

‘मेरा जुम्ल्याहा छोराको शव कहिले पाउँछु ?’

blog

कार्यदलको बैठकमा दलका टोली र भेला भएका चितवनवासी । तस्बिर :शालिग्राम नेपाल 

शालिग्राम नेपाल 

चितवन, साउन ३ गते ।  रौतहटको यमुनामाई गाउँपालिका–४, सरहठवाका ५८ वर्षीय सुखल दासको एउटै माग छ– जस्तो अवस्थामा भए पनि जुम्ल्याहा छोराको शव चाहियो ।  

सुखलका छोरा तुलसी र राम दास काठमाडाँैबाट गौर आउँदै गरेको गणपति बसमा चढ्नुभएको थियो ।   

चार दिनदेखि भरतपुरको एक होटेलमा छोरी र आफन्तसँग रहनुभएका दासले भन्नुभयो “जीवित छ भन्ने मलाई लागेको छैन । मृत्यु भएको भए लास हामीलाई चाहियो ।” मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा दुई वटा बस दुर्घटनाको विषयमा सरकारले गठन गरेको अध्ययन गर्ने कार्यदल बुधबार काठमाडौँबाट चितवन आयो । यो सूचना पाएपछि सुखल दाससँगै परिवार र आफन्त दौडेर भेट्न आउनुभयो । 

सुखलले भन्नुभयो, “अब ठुला मानिस आए, मेरो छोराको लास पाइएला भन्ने भयो । लास त दिएनन् हामीसँग कुरा गरेर फर्के । हामीसँग अब कुरा होइन छोराको लास चाहिएको छ । अरू केही चाहिँदैन जस्तो अवस्थामा भए पनि छोराको लास चाहियो ।” 

परिवारका जुम्ल्याहा छोरा दुबई जानका लागि मेडिकल परीक्षण गरेर घरपरिवारमा बिदा माग्न आउँदै थिए । 

“छोराले भिसा लागेपछि खुसी भएर फोन गरेको थियो, बुवा सुखलले भन्नुभयो, २१ वर्षका छोराको कमाइ खान पाइएला भनेर हामी खुसी भएका थियौँ तर हाम्रो खुसी र सपना सबै लुटियो । म वृद्ध भएँ अब परिवारको लालनपालन कसले गर्छ ? हाम्रो परिवारमा वज्रपात भएको छ ।” सामान्य खेतीपाती मजदुरी गरेर जीवन चलाउँदै आएको बताउने सुखल भन्नुहुन्छ, “हाम्रो दुःखको समुद्र पार गरेर सुखी बनौँला भनेर सोचेको थिएँ तर अहिले यस्तो विपत्ति आइलाग्यो ।” 

“दिनभरि प्रजिअ कार्यालय त कहिले नारायणी नदी किनार गएर बित्छ तर केही खबर आउँदैन । खोजेका छौँ भन्नुभएको छ तर खै अहिलेसम्म केही भेटिएको छैन । सिडियो साबले बस्नु केही समस्या भए हामीले सहयोग गर्छौं भन्नुभएको छ,” सुखलले भन्नुभयो, “होटेलमा आफ्नै खर्चमा बसेको छु खानका लागि व्यवस्था गर्नुभएको छ ।” 

सुझाव लिएर फक्र्यो टोली 

मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोले बस खसालेपछि अध्ययन गर्न गठित कार्यदलले दुर्घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेर आफन्त र जिल्लाका प्रतिनिधिसँग सुझाव सङ्कलन गरी फर्केको छ । टोलीले दुर्घटना भएको स्थलको अध्ययन, त्यहाँको भौगोलिक अवस्था, दुर्घटना भएको दिन प्रत्यक्षदर्शीसँगको छलफल, दुर्घटनाको कारणलगायतका विषयमा अध्ययन गरेको थियो । घटनास्थलको अध्ययनपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलमा टोलीले सुझाव सङ्कलन गरेको थियो ।  

छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले खोजी कार्यले सफलता पाउन नसक्नुका कारण के हो त्यो जानकारी पाउनुपर्ने बताउनुभयो । सरकारले स्वदेश तथा विदेशमा जहाँबाट भए पनि प्रविधि ल्याएर हराएका व्यक्ति खोजी गरी आफन्तलाई दिनुपर्ने भन्दै उहाँले दुर्घटना हुन नदिन सतर्कता अपनाउन सम्बन्धित पक्षलाई सुझाव दिनुभयो । 

नेकपा (एमाले) का उपाध्यक्ष श्याम विष्टले कार्यदलले निकाल्ने रिपोर्टको कार्यान्वयन हुनुपर्ने बताउँदै अन्य घटनामा हुने अध्ययन र रिपोर्ट जस्तो थन्किने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले यस्तो खोजी कार्यमा नयाँ प्रविधिको प्रयोग जरुरी रहेको भन्दै सवारी सञ्चालनका विषयमा मापदण्ड अपनाएर कडाइ गर्नुपर्ने बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वाले मुग्लिङ–नारायणगढ सडकको वैकल्पिक मार्ग शक्तिखोर–फिसलिङ सडकलाई सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । कार्यदलका सदस्य यातायात मजदुर सङ्गठनका प्रतिनिधि भीमज्वाला राईले छ जना मजदुर हराएको भन्दै हराइरहेका आफन्त पाउनुपर्ने बताउनुभयो । खोजी कार्य प्रभावकारी बनाउनुपर्ने बताउँदै उहाँले परिणाम आउन नसक्नु दुःखद भएको बताउनुभयो ।  खोजीकार्यलाई सकेको जति प्रभावकारी बनाउन प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएबमोजिम अध्ययनका लागि कार्यदलका सदस्य चितवन आएको हो । गत असार २८ गते नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा आएको लेदोसहितको पहिरोसँगै दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । बसमा ६५ जना यात्रु रहेका थिए । तीन जना सकुशल निस्कन सफल भएका थिए । हालसम्म १७ वटा शव फेला परेका छ ।