• २ साउन २०८१, बुधबार

चैते धान खेती गर्ने कृषकलाई अनुदान

blog

तस्बिर : रासस

गण्डकी, साउन २ गते । चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले वडा नम्बर १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिकाको वडा नम्बर १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत ९० हजार उपलब्ध गराइएको छ । त्यस्तै वडा नम्बर २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ । उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते-५ जातको धानको बीउ उपलब्ध गराएको थियो ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सक्रिय १५ सङ्घसंस्थालाई पाँच-पाँच हजार नगदसहित सम्मान गरेको छ । अनुदान रकम हस्तान्तरण एवम् कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताउनुभयो । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाइ छ । रासस